चिनियाँ हस्तक्षेपविरुद्ध लुम्बिनीमा प्रदर्शन, प्रम ओलीलाई प्रश्न – बेचेको कि भाडामा लगाएको ?
प्रकाशित २०७७ असोज ७ बुधबार
41
Shares
काठमाडौं । नेपाली भूमि अतिक्रमण गरी हुम्लामा चीनले भवन निर्माण गरेको पाइएपछि लुम्बिनी नागरिक समाजले त्यसको विरोधमा प्रदर्शन गरेको छ ।
समाजले चिनियाँ हस्तक्षेप र दादागिरी बढेको भन्दै चीन विरुद्द नारा लगाएको हो । समाजका कार्यकर्ताहरुले नेपालको भूमि फिर्ता गर, चिनियाँ विस्तारवाद मुर्दावाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर भन्दै चीनविरूद्द नारा लगाएका थिए।
समाजका एक कार्यकर्ताले भने, ‘हुम्लामा चिनियाँहरुले नेपालको भुमिमा भवनहरु बनाएको छ। प्रम ओलीजी भाडामा दिनु भएको छ या बेच्नु भएको छ एकचोटि चुटकुले भाषा भए पनि नेपाली जनतालाई बताइदिनुहोला ।’
हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएका छन् ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेको छ।
उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए।
‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन’ उनले भनेका छन् ।
हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन ।