काठमाडौं । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।
बुधबार राति भएको खेलमा आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । उद्घाटन खेलमा मुम्बई चेन्नई सुपर किंगससँग पराजित भएको थियो ।
अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाताले ९ विकेटको नोक्सानीमा १ सय ४६ रन मात्र बनाउन सक्यो ।
पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए ।
मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन, राहुल चहर र जस्प्रित बुम्राहले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ९५ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रन बनाए । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । उनले आईपीएलमा २०० सय छक्का पूरा गरे । २०० छक्का हान्ने रोहित दोस्रो भारतीय तथा समग्रमा चौथो खेलाडी हुन् ।
यो कोशेढुंगा भारतबाट चेन्नईका महेन्द्रसिंह धोनीले पूरा गरिसकेका छन् । उनले २१२ छक्का हानेका छन् । किंगस इलाभेन पञ्जाबका वेष्ट इन्डिजका खेलाडी क्रिस गेलले ३२६ तथा रोयल च्यालेन्जर्स बैंगलोरका दक्षिणी अफ्रिकी खेलाडी एबी डे भिलियर्सले २१४ छक्का हानेका छन् ।
कोलकाताका शिवम माभीले २ विकेट लिए । कोलकत्ताले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
बिहीबार बेलुकी ७ः४५ बजे पञ्जाब र बैंगलोर खेल्नेछन् । पहिलो खेलमा पञ्जाबले हार बेहोर्दा बैंगलोरले जित निकालेको थियो ।