काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा पराजित भए शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेका छन् ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘राम्रो, हामी हेर्छौं के हुन्छ । तपाई त्यो जान्नुहुन्छ ।’
उनले मतपत्रमाथि आफ्नो गुनासो रहँदै आएको भन्दै शान्तिपूर्ण रुपले डेमोक्र्याट उम्मेदवार जो बिडेन निर्वाचनमा विजयी भए सत्ता हस्तान्तरण नगर्ने बताए ।
उनले मतपत्रप्रति संशय देखाउँदै भने, ‘‘मतपत्रमाथि मेरो गुनासो रहँदै आएको छ । मतपत्र एक विपद हो ।’
ट्रम्पले निर्वाचनको परिणाम अमेरिकी सर्वोच्च अदालतमा गएर टुंगिन सक्ने पनि बताए ।
देशमा बढिरहेको दंगाफसादबारेको प्रश्नमा ट्रम्पले ‘मतपत्रबाट छुटकारा मिल्ने वित्तिकै शान्ति हुने’ पनि दावी गरे । उनले सत्ताको निरन्तरता हुने पनि बताए ।
उनी सत्ताबाट टाढा हुने परिकल्पना गरिरहेका छन् । चुनावमा हार भए पनि त्यो धाँधलीपूर्ण हुने भएकाले सत्ता नछाड्नेतर्फ उन्मुख हुँदैछन् । चुनाव हुन अझै ४१ दिन बाँकी छ ।
कोरोना भाइरसको खतराका कारण मतदातालाई सुरक्षित राख्नका लागि धेरैजसो राज्यमा हुलाकबाट मतदान गराउने व्यवस्था गरिँदैछ ।
चारवर्ष अघि सन् २०१६ को निर्वाचनमा पनि ट्रम्पले पराजय स्वीकार्ने कुरा ठाडै अस्वीकार गरेका थिए । त्यो बेला
३० लाख लोकप्रिय मतले प्रतिष्पर्धी डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनभन्दा पछाडि परेर पनि ट्रम्पलाई नै विजयी घोषणा गरिएको थियो ।
यसपटक पनि ट्रम्पको अलोकतान्त्रिक बोलीले उनलाई नै राष्ट्रपति बनाउने आशंका हुन थालेको छ ।