arrow

एउटै कम्पाउण्डभित्र प्याजको मूल्यमा दोब्बरकाे अन्तर, सरकारी हस्तक्षेपपछि मूल्य नियन्त्रणतर्फ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ८ बिहिबार
onion.jpg

काठमाडौं । संघीय राजधानीको मनोहरा तरकारी बजारभित्र एउटै कम्पाउण्डमा प्याजको मूल्य दोब्बरले फरक रहेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा एउटै कम्पाउण्डभित्र प्याजको मूल्यमा दोब्बरको अन्तर रहेको पाइएको हो ।

समितिले बिहीबार बिहान गरेको अनुगमनका क्रममा सुनापति आलु प्याज सप्लायर्सले प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँका दरले बिक्री गरिरहेको थियो ।

सोही कम्पाउण्डमा रहेको सलेज आलु प्याज भण्डारले प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री गरिरहेको थियो ।

भारतले गत भदौ अन्तिम सातादेखि प्याज निर्यातमा गरेको प्रतिबन्धका कारण नेपालका तरकारी व्यवसायीले प्याजमा मनपरी सुल्क लिने क्रममा प्याजको मूल्यमा उक्त अन्तर पाइएको हो ।

अनुगमनका क्रममा अन्य पसलमा समितिले प्याजको खरिद बिल मागेको देखेपछि सलेज आलु प्याज भण्डारले प्रतिकिलो ६० रुपैयाका दरले बिक्री गर्न थालेको हो ।

त्यस्तै अर्को जेनिसा आलु प्याज भण्डारले होलसेल मूल्य १ सय ५ रुपैयाँ प्रतिकेजीका दरले रहेको जानकारी दिएको छ ।

यसरी प्याजको मूल्य  एउटै कम्पाउण्डभित्र पसलैपिच्छे फरक फरक रहेको पाइएपछि समितिले व्यवसायीलाई खरिद बिक्री बिल लगायतका कागजात लिएर महानगरको कृषि बिभागमा सम्पर्क गर्न निर्देशन दिएको छ ।

सरकारी हस्तक्षेपपछि प्याजको मूल्य नियन्त्रणतर्फ

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि आकासिएको प्याजको मूल्य वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरपालिकाको हस्तक्षेपपछि नियन्त्रणमा आएको छ ।

भदौ अन्तिम साता भारतले प्याज निर्यातमा प्रतिबन्ध गरेपछि ३ दिनमै करिब सय प्रतिशतले बढेको प्याजको मूल्य बिहीबारसम्म आरालो लागेको देखिन्छ ।

कालीमाटी फलफुल तथा तरकारी बजारमा भदौ २९ मा प्याजको थोक मूल्य प्रतिकेजी औषत ६० रुपैयाँ रहेको प्याजको मूल्य भदौ ३१ म १ सय १९ रुपैयाँ प्रतिकेजीका दरले पुगेको थियो ।

भारतले २९ भदौ देखि नै प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

त्यसपछि ३१ भदौसम्म करिब दोब्बरले बढेको प्याजको थोक मूल्य बिहीबार औषत १ सय २ रुपैयाँ प्रतिकेजीका दरले बिक्री भइरहेको कालीमाटी फलफुल तथा तकारी बजार व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसअघि बुधबार प्रतिकेजी १ सय ५ रुपैयाँ, मंगलबार १ सय ८ रुपैयाँ, सोमबार १ सय १० रुपैयाँ प्रतिकेजीका दरले कालीमाटीमा थाके औषत मूल्य रहेको थियो ।



लोकप्रिय समाचार
नयाँ