काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै गरिएको निषेधाज्ञाका कारण नेपालको वैदेशिक व्यापार साढे १९ प्रतिशतले घटेकाे छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १९ दशहमलव ६४ प्रतिशतले वैदेशिक व्यापार घटेकाे हो ।
गत आर्थिक वर्ष २०७६/७७को पहिलो दुई महिना (साउन-भदौ)मा नेपालमा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब ५५ लाख ५१ हजार रुपैयाँ बराबरको भएको थियो ।
चालु आर्थिक वर्ष २०७७/०७८को सोही अवधिमा नेपालमा वैदेशिक व्यापार १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको भएको छ ।
उक्त व्यापार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा १९ दशमलव ६४ प्रतिशतले कम रहेको भन्सार विभागले जानकारी दिएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षको वैदेशिक व्यापारमा २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार रुपैयाँ र निर्यात १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँको रहेको थियो ।
चालु आर्थिक वर्षको सोही अवधिमा भएको वैदेशिक व्यापारमा आयात १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँ र निर्यात २० अर्ब ४४ करोड ३० लाख ६२ हजार रुपैयाँ बराबरको रहेको छ ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षमा आयात २२ दशमलव ७ प्रतिशतले घटेको र निर्यात १० दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँ पुगेको भन्सार विभागले जनकारी दिएको छ ।
उक्त व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ९३ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख ४२ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ ।
नेपालको वैदेशिक व्यापार मूख्य रुपमा भारत र चीनसँग हुँदै आएको छ ।
भारत र चीनसहीत १ सय भन्दा बढी मुलुकसँग नेपालको वैदेशिक व्यापार हुने गरेको भन्सार विभागको विवरणमा उल्लेख गरिएको छ ।