काठमाडौं। नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको भन्दै कांग्रेसले बिरोध जनाएको छ । लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद भएको कांग्रेसले जनाएको छ ।
संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरिएको, अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र गरिएको स्मरण गराउँदै कांग्रेसले भनेको छ, 'नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ।'
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सजग गराउंदै सार्वजनिक रुपले अपील र आग्रह गर्दछ ।'