लद्दाख । लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा बढेको तनावको बीचमा भारतीय सेनाले हिउँदका महीनाहरूमा सीमाको रक्षाका लागि तैनाथ रहने बताएको छ । सेनाले खाद्यान्न, कपडा र इन्धनलगायतका सबै आवश्यक वस्तुहरू सञ्चय गरिसकेको जनाएको छ ।
"भारतीय सेना पूर्ण रूपले तयार छ र हरेक जवानले राम्रो कपडा, टेन्ट, खाना आदि पाइरहेका छन्," १४ कोर्प्सका चीफ अफ स्टाफ मेजर जनरल अरविंद कपूरले भने,"हाम्रो पूर्वाधार यति चलाखीपूर्वक निर्माण गरिएको छ कि बाहिरीबाट आउने जुनसुकै पनि 'प्लग र प्ले' मोडमा यहाँका एकाइहरूलाई निर्वाध रूपमा सामेल गर्न सकिन्छ र प्रभावकारी हुन सक्छ ।"
सीमा सुरक्षाको फ्रन्टलाइनमा खटिएका प्रत्येक जवानलाई जाडोका लागि आवश्यक कपडा र टेन्ट उपलब्ध गराइएको मेजर जनरल कपूरले बताए ।
"प्रत्येक अधिकारी, जेसीओ, जवानलाई उत्तम गुणस्तरीय रासन दिइन्छ । जुन अत्यधिक पोषणयुक्त र उच्च क्यालोरी भएको छ । आज पूर्वी लद्दाखमा खटाइएको सेनाका कारण यहाँको स्थानीय अर्थव्यवस्थामा सकारात्मक प्रभाव पारेको छ," उनले थपे ।
ब्रिगेडियर एएस राठौरले भारतीय सेनाले उच्च उँचाइमा तैनाथ सिपाहीहरूलाई उच्च प्रोटिन उपलब्ध गराउन उच्च गुणस्तरीय रासन खरिद गरेको बताए ।
"म तपाईंलाई यो पनि जानकारी दिन चाहन्छु कि यस राशनको मापदण्ड प्रत्येक सिपाहीको लागि जस्तोसुकै भए पनि फरक छ । साथै हामीले लद्दाखमा तैनाथ फोर्सका लागि आवश्यक पर्ने राशन पनि पाएका छौं र भण्डार गरेका छौं," उनले भने ।
"सेनाको आपूर्ति श्रृंखला स्थानीय उत्पादनसँग जोडिएको छ ताकि हामी स्थानीय किसानहरूबाट उत्पादन किन्न सक्छौं र स्थानीय अर्थव्यवस्था सुधार गर्न सक्छौं," उनले भने ।
भारत र चीनबीच अप्रिल देखि सीमामा तनाव उत्पन्न भएको छ । विभिन्न चरणमा वार्ता भए पनि समस्या समाधान हुन सकेको छैन । उच्च हिमाली क्षेत्रमा जाडोको मौसममा समान्यतया बस्न नसकिने अवस्था आउछ । तर, यस पटक भने भारतीय सेनाले त्यही तैनाथ रहने जनाएको छ ।