काठमाडौं । चालु आर्थिक वर्ष २०७७/०७८को पहिलो २ महिना (साउन–भदौ)मा सवारी साधन तथा तिनका पार्टपुर्जा आयात करिब ५० प्रतिशतले घटेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७६/०७७को सोही अवधिको तुलनामा चालु आवमा सवारी साधन र पार्टपुर्जाको आयात करिब ५० प्रतिशतले घटेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा ९ अर्ब ७४ करोड ९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ ।
गत आवको सोही अवधिमा १८ अर्ब ४४ करोड २० लाख रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो २ महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा करिब आधाले आयात घटेको देखिन्छ ।
अटो मोबाइल (सवारी साधन) व्यवसायीहरुका अनुसार चालु आर्थिक वर्षमा कोरोना महामारीको प्रकोपका कारण आयातमा कमी आएको हो ।
होण्डा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङका विजनेश डेभ्लपमेन्ट म्यानेजर निजेनलाल श्रेष्टले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै गरिएको निषेधाज्ञाका कारण चालु आर्थिक वर्षमा सवारी साधनको आयात कम भएको बताए । ‘पछिल्लो समय निषेधाज्ञा खुला भएपछि सवारी साधनको समग्र व्यापारमा करिब करिब ४० प्रतिशतको सुधार देखिन्छ’ उनले भने, ‘अहिले आयातमा समस्या छ । भारत र नेपालमा कोरोना फैलिएकाले पनि हुन सक्छ । आयात सोचे अनुसार भइरहेको छैन ।’
यसअघि सरकारले कोरोना भाइरस नियन्त्रणकाक लागि भन्दै गत चैत ११ गतेदेखि मुलुकभरि लकडाउन गरेको थियो ।
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै भारत सरकारले पनि केही समय लकडाउन गरेका कारण गत आर्थिक वर्षको अन्तिममा समेत सवारी साधनको आयात कम भएको थियो ।
त्यसपछि नेपाल सरकारले असार पहिलो सातादेखि लकडाउनलाई केही खुकुलो पारेपछि सवारी साधनको कारोबार फेरी बढेको थियो ।
गत साउन पहिलो साता देखि नेपाल सरकारले पूर्ण रुपमा लकडाउन हटिसकेको घोषणा गरेपछि सवारी साधनको आयात तथा कारोबार बढेपनि भदौमा फेरि गरिएको निषेधाज्ञाका कारण प्रभावित बनेको थियो ।
भारतबाटै बढी आयात
भन्सार विभाग अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा सवारी साधन सबै भन्दा भारतबाटै आयात भएको छ ।
विभागका अनुसार भारतबाट मात्रै ९ अर्ब ५ करोड ६१ लख ५५ हजार रुपैयाँ बढीको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ ।
त्यसछि चीनबाट ३७ करोड ३४ लाख ९३ हजार रुपैयाँ बढीको सवारी साधन तथा तिनका पार्टपुर्जा आयात भएको भन्सार विभागको तथ्यांक छ ।
भारत र चीन लगायत अर्जेन्टिना, अष्ट्रेलिया लगायतका अन्य मुलुकबाट पनि सवारी साधन र तिनका पार्टपुर्जा आयात भएको भन्सार विभागले जनाएको छ ।
भन्सार अत्यधिक
सवारी साधन तथा तिनका पार्टपुर्जाको आयातबाट सरकारले चालु आर्थिक वर्षको पहिलो २ महिनामा ७ अर्ब रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ ।
साउन र भदौमा मात्रै सवारी साधन तथा पार्टपुर्जाबाट ७ अर्ब ६५ करोड २० लाख ७५ हजार रुपैयाँ संकलन गरिएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
भन्सार विभागले संकलन गरेको उक्त राजश्व सवारी साधनको आयातको ७८ दशमलव ५५ प्रतिशत हो ।
भन्सार सुल्क मात्रै करिब करिब सवारी साधनको मूल्य बराबर लाग्ने भएकाले नेपालमा सवारी साधन अत्यधिक महंगो हुने गरेको व्यवसायी बताउँछन् ।
भन्सार सुल्क बाहेकका अन्य सुल्क समेत सरकारले लिँदै आएको छ ।