सप्तरी । जुम्ल्याहा दाजु बितेको २६ दिनपछि भाइको पनि संक्रमणबाट मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय भाइको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान मृत्यु भएको हो ।
उनका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा गत भदौ १३ गते बाटा नै मृत्यु भएको थियो । दाजुको पिसिआर परीक्षण भने गरिएको थिएन ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भाइमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका छोराले बताए । रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो । उनको शव अहिले धरानमै छ ।
कोरोनाबाट थप एक संक्रमित को मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।