काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएर दुई मन्त्रालय फुटाउने तयारी गरेका छन् ।
सबै मन्त्रीहरुलाई बिहानै खबर गरेर आइतबार मध्यान्ह १२ बजेलाई मन्त्रिपरिषद बैठक बोलाएको जानकारी दिँदै एक मन्त्रीले मन्त्रालय फुटाउने एजेण्डा हुनसक्ने दावी गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फेरि फुटाइन लागेको स्रोतको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर उद्योग, वाणिज्य र आपूर्ति गरी दुई मन्त्रालय बनाइनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय फुटाएर ऊर्जा र सिँचाइ मन्त्रालय बनाइने छ।
त्यस्तै, भौतिक पूर्वाधार र यातायात गरी दुईवटा अलग मन्त्रालय बनाउन यतिबेला सरकार लागिरहेको छ ।
मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयहरु चर्चामा आइरहेका बेला मन्त्रिपरिषद बैठक आह्वान गरिएको हो । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बैठकको एजेण्डाबारे केही खुलाएको छैन ।
मन्त्रिपरिषद पुनर्गठनको विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग केही दिनदेखि निरन्तर छलफल गरिरहेका छन् ।
तर पार्टीका दुई प्रमुख नेताबीच सो विषयमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ । ‘प्रधानमन्त्री ओलीले छिट्टै मन्त्रिमण्डल पुनर्गठन गर्नेगरी तयारी तीव्र पार्नुभएको छ’, ओलीनिकट एक स्थायी समिति सदस्यले भने ।
अर्थ र सञ्चारलगायत महत्वपूर्ण मन्त्रालयहरु खाली रहेको र पुनर्गठनको विषय केहि समयदेखि लम्बिदै गएका कारण यसलाई थप नतन्काउने पक्षमा प्रधानमन्त्री रहेको ती नेताको भनाइ छ ।
अर्का एक नेताका अनुसार वामदेव गौतमको नियुक्तिविरुद्ध अदालतमा परेको मुद्दा नटुङ्गिदै मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीले जोड गरेको देखिन्छ ।
‘वामदेवजीको प्रकरण अदालतबाट नटुंगिदै मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी देखिन्छ,’ ती नेताले भने ‘पछिल्लो पटक प्रचण्डले सञ्चार मन्त्रालयमा दावी गरेपछि पनि पुनर्गठन लम्बिएको हो ।
सर्वोच्चमा परेको रिटमा बुधबारमात्र वामदेवबारे सुनुवाई हुँदैछ । पहिलो पटक राष्ट्रिय सभा सदस्यका लागि रिट परेकाले यसलाई विस्तृतमा छलफल गरी निर्णय गर्नुपर्ने भएको बताइएको छ ।