पत्रकार देवकोटालाई कुटपिट गर्ने पत्रकार महासंघका सचिव खनाल पक्राउ, दुई फरार
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ११ आइतबार
46
Shares
विदुर। नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ नुवाकोटका संस्थापक सदस्य शिव देवकोटालाई आक्रमण गर्ने नुवाकोटका तीनजना पत्रकार विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।
पत्रकार देवकोटालाई कुटपिट गर्ने नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल र सदस्य सुजित भण्डारीविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ‘ज्यान मार्ने उद्योग’ अपराधमा जाहेरी दर्ता भएको हो ।
पीडित देवकोटाको दाजु शम्भुप्रसाद देवकोटाले दिएको जाहेरी दर्ता गरेर प्रतिवादी विरुद्ध आइतबार नुवाकोट जिल्ला अदालतबाट पक्राउ अनुमति पूर्जी लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए ।
प्रहरी निरिक्षक फुयाँलका अनुसार ज्यान मार्ने उद्योग अपराधको अभियोग लागेका मध्ये पत्रकार महासंघ नुवाकोटका सचिव एवम् रेडियो जालपामा कार्यरत जगदिश खनाललाई प्रहरीले आजै पक्राउ गरेर अनुसन्धानको लागी हिरासतमा राखेको छ ।
खनाललाई सोमबार अदालतमा उपस्थित गराई हिरासतमा राख्न म्याद लिने जनाइएको छ भने बाँकी दुई जना कपिलदेव खनाल र सुजित भण्डारी सम्पर्कमा नआएकाले उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक फुयाँलले बताए ।
तीन जनाको समूहले देवकोटालाई यही भदौ ५ गते सोमबार विदुरमा निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । देवकोटाको जिल्लामा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौमा उपचार पश्चात यही बिहीबार डिस्चार्ज भएर हाल घरमै आराम गर्दै आएका छन् ।