काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।
सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।
पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको यो कीर्तिमानी जित हो । आईपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।
राजस्थानको जितमा सन्जु सामसनले ८५, राहुल टेवटियाले ५३ तथा कप्तान स्टेभन स्मिथले ५० रन बनाए ।
मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । मायांक अग्रवालले १ सय ६ रन । आईपीएलको यस सिजनमा शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।
मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग मिलेर १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रन बनाए ।
पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबको यो दोस्रो हार हो । पन्जाब यसअघि दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । रोयल च्यालेन्जर्स बैंगलोरलाई भने ९७ रनले हराएको थियो ।
अंक तालिकामा दिल्ली क्यापिटल्स २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंकसहित राजस्थान दोस्रो स्थानमा छ ।
पन्जाब हारका बीच पनि २ अंकसहित तेस्रो स्थानमा छ ।
सोमबारको खेल
सोमबार मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्नेछन् ।
खेल दुबाई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुकी ७ः४५ बजेदेखि सुरु हुनेछ । २ खेलबाट दुवै टिमको २ अंक रहेको छ ।