काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।
सोमबारै काठमाडौं उपत्यकामा नयाँ ८ सय १७ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६ सय ४९ , ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन्।
देशभरका स्वास्थ्य प्रयोगशालामा सोमबार १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रीय संक्रमितको सङ्ख्या १९ हजार ६ सय २४ रहेको उनले बताए ।
यसैगरी कोरोना निको भई ७ सय ४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार २ जना महिला र २ जना पुरुष गरि ४ जनाको संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमणबाट सुनसरीका ३८ वर्षीया र भक्तपुरका ५१ वर्षीया महिला रहेका छन् भने बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा करोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।
यसैगरी संस्थागत आइसोलेसनमा आठ हजार ६ सय ९५, होम आइसोलेसनमा दश हजार ९ सय २९ तथा विभिन्न क्वारेन्टिनमा छ हजार ३ सय १० जना रहेका छन् । मुलुकभरका अस्पतालमा हाल कोरोना संक्रमितमध्ये २सय २५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।