arrow

संकटउन्मुख अर्थतन्त्रः विकास निर्माणका काम ठप्प, तथ्यांकमा मात्रै उत्साहजनक राष्ट्र बैंकका सूचक

टुँडिखेलमा खाना खाइरहेकाहरुलाई नछुने शोधानान्तर स्थिति र विदेशी विनिमय

logo
पीबी चन्द,
प्रकाशित २०७७ असोज १३ मंगलबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मुलुकको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्ष २०७७ ÷०७८को पहिलो महिना साउनको आर्थिक स्थिति तथ्यांकमा  उत्साहजनक देखिन्छ । जस्तैः चालु खाताको अवस्था, शोधानान्तर स्थिति र विदेशी विनिमय सञ्चितिको अवस्था आदि ।

राष्ट्र बैंकका अनुसार साउनमा चालु खाता २५ अर्ब ४१ करोडले बचतमा छ । गत वर्ष साउनमा चालु खाता ९ अर्ब ३४ करोडले घाटामा रहेको समेत औंल्याएर चालु आर्थिक वर्षको साउनको अवस्था उत्साहजनक रहेको राष्ट्र बैंकले देखाउन खोजेको छ ।

त्यस्तै शोधानान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत वर्ष साउनमा शोधानान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो । गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा करिब ४५ अर्ब रुपैयाँ बढीले शोधानान्तर स्थिति बचतमा रहेको देखाउँदै यस वर्ष आर्थिक सुचकहरु उत्साहजनक रहेको राष्ट्र बैंकको भनाई छ ।

तर, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा मुलुकमा आर्थिक क्रियाकलापहरु नभएका कारण चालु खाता र शोधानान्तर स्थिति बचतमा रहेकाले मुलुकको अर्थतन्त्र संकटोन्मुख रहेको दावी गर्छन् । ‘बैंकहरुले गर्ने कर्जा प्रवाह घटेको छ । निक्षेप पनि घटेको छ । यसले आर्थिक क्रियाकलापहरु ठप्प रहेको देखाउँछ’ थापा भन्छन्, ‘शोधानान्तर स्थिति, विदेशी विनियम सञ्चिति लगायत वस्तु तथा सेवाको आयातमा कमी आएर बचतमा रहेका हुन् । प्रशस्त आयात भएर वा मुलुकलाई चाहिने वस्तु नेपालमै उत्पादन भएर विदेशी विनिमय। शेधानान्तर बचतमा रहेका भए गर्व गर्ने कुरा पनि हुन्छ ।’ उनको प्रश्न छ, ‘आयात कम भई खान नपुगेर कसैले भोकै बस्नु परेको पो छ कि?’ 

हुन पनि चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा गत वर्षको सोही अवधिको तुलनामा आयात २२ प्रतिशतले घटेको छ ।

विकास निर्माणका कामहरु ठप्प प्राय छन् । विकास निर्माणका काममा प्रयोग गरिने डिजेलको प्रयोग करिब ९३ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा डिजेलको प्रयोग करिब ९३ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ ।

यद्यपि सार्वजनिक यातायात बन्द रहेका कारण पनि डिजेलको आयातमा प्रभाव परेको हो ।

डिजेल आयात र खपतको अवस्थाले पनि मुलुकमा खासै आर्थिक क्रियाकलापहरु नभइरहेको देखाउने थापा बताउँछन् । ‘अहिले नै अर्थतन्त्र संकटमा गएको भन्न त मिलेन’ उनी भन्छन्, ‘सूचकहरु नकारात्मक छन् । अर्थतन्त्र संकटउन्मुख चाँही तथ्यांकहरुले नै देखाउँछ ।’

राष्ट्र बैंकका अनुसार साउनमा विदेशी विनियम सञ्चिति १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

१७ महिनाको आयात धान्ने क्षमताको विदेशी विनिमय सञ्चिति रहेकोले विदेशी विनियम सञ्चितिको सूचक पनि उत्साहजनक रहेको देखाउन खोजिएको छ ।

तर, टुँडीखेलमा खाना खाइरहेकाहरु र सुदूर तथा मध्यपश्चिमबाट भारत गइरहेकाहरुलाई यस्तो तथ्यांकले नछुने (खासै अर्थ नराख्ने) थापा बताउँछन् ।

मुलुकलाई आवश्यक पर्ने सबै वस्तु तथा सेवाको पूर्ति भएर विदेशी विनिमय सञ्चितिको आँकडा त्यति पुगेको भए सकारात्मक मान्न सकिने र उक्त लगानी स्वदेशी पूर्वाधार निर्माणमा  गर्दा राम्रो हुने थापाको भनाई छ ।

यसो गर्दा नेपालीहरुले काम पाउने र महामारीको बीचमा भारत जानेहरुको सँख्यामा कमी आउने उनको आँकलन छ ।

सुदूर तथा मध्यपश्चिमबाट भारत जानेहरुको लाइनले समेत मुलुकमा विकास निर्माणका काम एवंम खासै आर्थिक क्रियाकलापहरु नभइरहेको देखाउँछ ।

भारतमा कोरोना फैलिरहेका बेला स्वदेश आएका नेपालीहरु झन झन विकराल बन्दै गइरहेका बेला भारत फर्किन थालेका छन् ।

दशैं र तिहार नजिकिँदै गर्दा परिवार छाडेर भारत गइरहेकाहरुले सहज रुपमा भारत जान समेत पाइरहेका छैन्न् ।

यस्तो अवस्थामा नेपाल सरकारले बजेटको उचित कार्यान्वयन गरी विकास निर्माणका कामलाई तिब्रता दिएर स्वदेशमै रोजिरोटीको व्यवस्था गर्न सकेको भए भारत जानेहरुको सँख्यामा कमी आउँछ । ‘काम पाएको भए सकेसम्म भारत जानेहरु जाने थिएनन् कि?’ थापा प्रश्न गर्छन् ।

विकास निर्माणका काम सुस्त भइरहेका चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्चबाट पनि देखिन्छ ।

चालु आर्थिक वर्षको  पहिलो दुई महिनामा विकास निर्माणका काममा खर्च हुने पुँजीगत बजेट गत वर्षको सोही अवधिको भन्दा निरासाजनक छ ।

गत वर्ष साउन र भदौमा गरी ५ अर्ब १३ करोड ४१ लाख रुपैयाँ पुँजीगत खर्च भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।

विकास निर्माणका काम नभएकै कारण सरकारी खातामा १ खर्ब ९६ अर्ब रुपैयाँ ५६ करोड रुपैयाँ नगद थन्किएको छ । राष्ट्र बैंकका अनुसार प्रदेश, स्थानीय तह र संघ सरकारको समेत गरी साउन मसान्तमा १ खर्ब ९६ अर्ब ५६ करोड रुपैयाँ नगद मौज्दात सरकारी खातामा छ ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रि नगद मौज्दात हुनु, शोधानान्तर स्थिति बचतमा हुनु, विदेशी विनिमय सञ्चिति बढ्नु, चालु खाता बचतमा हुनु मुलुकका लागि राम्रो संकेत भएको बताउँछन् । ‘मुलुकमा उस्तै किसिमको खाद्यान्न संकट आइपर्दा हाम्रो मुलुकपनि अन्तबाट आयात गर्नलाई सक्षम छ है भन्ने यी तथ्यांकले देखाउँछ’ क्षत्रिले भन्छन्, ‘भोकमरि भयो, खाद्यान्न संकट भयो भने भविष्यमा आशा गर्ने ठाउँ चाँही यी सूचकहरुले दिन्छन् ।’

तर, विकास निर्माणका कामकाे गति बढाउनु पर्ने, विकास खर्च बढाउनु पर्ने लगायतका कुराहरुसँग क्षत्रि समहत छन् ।

कोरोना महामारीबाट जोगिनका लागि भन्दै सरकारले गरेको निषेधाज्ञा लगायतका कारण विकास निर्माणका काम नभएको स्वभाविक हो ।

तर, विकास निर्माणका कामलाई निरन्तरता दिन र अर्थतन्त्र चलायमान बनाइ राख्न सरकारले पहिले नै ध्यान पुर्याउन पथ्र्यो, त्यतातिर ध्यान दिएन ।

अझै पनि सरकारले बजेटको प्रभावकारी कार्यान्वयन गरेर अर्थतन्त्र चलायमान बनाउन सक्ने पूर्वकारी निर्देशक थापा बताउँछन् । ‘अर्थतन्त्र बचाउने एउटै विकल्प भनेको बजेटको प्रभावकारी कार्यान्वयन हो’ थापा भन्छन् ।



लोकप्रिय समाचार
नयाँ