काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेको गुनासो सुन्न कार्यविधि जारी गरेको छ ।
राष्ट्र बैंकले सोमबार ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७’ जारी गर्दै गुनासो सुनुवाई समिति समेत बनाएको हो ।
कार्यविधि अनुसार राष्ट्र बैंकबाट इजाजत लिएर सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा ग्राकहले पत्र, इमेल लगायतका माध्यमले राष्ट्र बैंकमा गुनासो गर्न सक्ने छन् ।
बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनी मनि चेन्जर लगायतका संस्थाले ठगी गरेमा ग्राहकले फोन नम्बर, इमेल वा पोर्टलको माध्यमबाट गुनासो गर्न सक्ने छन् ।
गुनासो सुनुवाईको लागि राष्ट्र बैंकले बनाएको समिति आवश्यक समन्वय तथा अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने छ ।
राष्ट्र बैंकले कार्यविधिमा गुनासो सम्बोधनका लागि बरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा समिति गठन गरेको छ ।