हुम्लामा चीनको अतिक्रमण विरुद्ध नेपाल रिपब्लिकन पार्टीको प्रदर्शन
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
100
Shares
काठमाडौं। चीनले हुम्ला जिल्लामा गरेको अतिक्रमण विरुद्ध नेपाल रिपब्लिकन पार्टीले चिनियाँ दुतावास अघी प्रदर्शन गरेको छ । हुम्लामा नेपाली भुमिमा चिनियाँ पक्षले भवन बनाएको भन्दै नेपाल रिपब्लिकन पार्टी त्यसको विरोधमा उत्रिएको हो ।
यसअघि चीनले हुम्लाको लोलुङजोङको सीमा भन्दा यता डेढ किलोमिटर नेपालतर्फ भुमि मिचेर भवन बनाएको स्थानिय जनता र जनप्रतिनिधीहरुले खुलासा गरेका थिए ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले डेढ किलोमिटर यता आएर चिनियाँले भवन बनाए पनि सरकारले वास्ता नगरेको बताएका थिए ।
सरकारले हतार हतार सीमाको बिषयमा टिप्पणी गर्नु रहस्यमयी भएको नेपाली कांग्रेसले आरोप लगाएको छ। यस विषयमा केपी ओली नेतृत्वको सरकारले रहस्यमयी मौनता जनाउँदै चीनले भुमि नमिचेको प्रतिक्रिया दिएको छ ।
चिनियाँ प्रभावमा परेर कुर्सी जोगाउने प्रयत्न स्वरुप चिनियाँ पक्षबाट सीमा नमिचिएको सरकारले प्रतिक्रिया दिएको रिपब्लिकन पार्टीले आरोप लगाएको छ ।
पार्टीका कार्यकर्ताहरुले ब्याकअफ चाइनाको नारा समेत लगाएका थिए । दुतावास अघी प्रदर्शन गरेका ८ जनालाई नियन्त्रणमा लिएर प्रहरी प्रभाव नक्सालमा राखिएको सो पार्टीका अध्यक्ष सिद्धार्थ गौतमले जानकारी दिए । उनले आफूहरुलाई रिहा गर्नुअघी नागरिकता मागेको र नागरिकता नदेखाउनेहरुलाई हिरासतमै राखिने प्रहरीले जवाफ दिएको बताए।