काठमाडौं । नेपाल र चीनबीच नाका खोल्ने र पारवहन सम्र्झाता कार्यान्वयन गर्ने सहमति भएको छ ।
मंगलबार नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल बैठकले उक्त सहमति गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले भर्चुअल बैठकले नाका खोल्ने र पारवहन ढुवानी सम्झौता कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिइन् ।
त्यस्तै व्यापार सहजीकरण, सीमा वारपार आर्थिक क्षेत्र स्थापना, व्यापार पूर्वाधार विकास निर्माणमा सहयोग गर्ने लगायतका सहमति भएको केसीले जानकारी दिइन् ।
उनका अनुसार नेपाल चीन आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति भएको छ ।
त्यस्तै दुवै मुलुकबीच तातोपानी नाका र रसुवागढी नाकामा कोभिड–१९ को संक्रमणबाट बच्ने उपायहरु अपनाई नाका सुचारु गर्ने सहमति पनि भएको छ ।
पारवहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयनको गर्ने र व्यापार सहजीकरणका लागि रसुवाको टिमुरेमा सीमा जाँच स्टेसन र सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा समेत बैठकमा छलफल भएको केसीले जानकारी दिइन् ।
त्यस्तै १ सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने विषयमा पनि सहमति मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
बैठकको नेत्तृत्व नेपालकातर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं नेपाल–चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए ।
चीनकोतर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक पेङ् गाङ्ले नेत्तृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।