arrow

तातोपानी नाका असोज १९ बाट खुल्दै

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
tatopani-border.jpg.jpeg

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेबाट खुल्ने भएको छ । आज नेपाल र चीनका अधिकारीहरुबीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेबाट खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासा उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी थिए ।  

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा ‘अनलोड’ गर्ने भएको छ भने नेपालतर्फका मजदूर तथा चालकले ती सामान ‘लोड’ गरेर ल्याउने सहमति भएको छ । यसका लागि नेपालका तर्फबाट चालक र मजदूर गरी २८ जनाको टोली पिसीआर परीक्षण गरेर तयारी अवस्थामा रहेका छन् । 

चिनियाँ पक्षले भने थप २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाव दिएको भन्सार प्रमुख खत्रीले बताए । उनका अनुसार यसअघि जाँच गरिएका सबै २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदूरको पाँच­पाँच दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।

छलफलका क्रममा नेपालले चीनतर्फको कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न अनुरोध गरेको छ भने चिनियाँ पक्षले यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको पनि प्रमुख खत्रीले जानकारी दिए ।

 तिब्ब्तको कुती नजिकैका ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अबरुद्ध भएको भन्दै एक महिनाभन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन । चिनिँया राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।
 



लोकप्रिय समाचार
नयाँ