प्रदेश प्रहरी समायोजनका लागि ल्याइएको अध्यादेशमा के छ?
गृहमन्त्रालय सूचना निकाल्ने तयारीमा, बाग्मती प्रदेश कानुनी उपचारमा जाने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
25
Shares
काठमाडौं। नेपाल प्रहरीको समायोजन प्रकृयाका लागि बाटो खुला भएसँगै गृहमन्त्रालयले समायोजनका लागि सूचना निकाल्ने तयारी गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीकार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएसँगै अबरुद्ध रहेको प्रहरी समायोजन प्रकृयाका लागि बाटो खुलेपछि मन्त्रालयले सो तयारी थालेको हो । तर बाग्मती प्रदेशले भने यसलाई अस्वीकार गर्दै आएको छ ।
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले अबको केही दिनमा सूचना निकालेर समायोजना प्रकृया थाल्ने बताएका छन् । ‘अध्यादेश जारी भैसक्यो अब कार्यान्वयनका लागि सूचना प्रकासित गरिनेछ’, उनले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ सो अध्यादेश जारी गरेकी थिइन ।
प्रदेश प्रहरी सुपरिवेक्षण सम्बन्धी अध्यादेश जारी गरेसँगै अवरुद्ध प्रहरी समायोजनको बाटो खुलेपछि गृहमन्त्रालयले केही दिनपछि नै शुरु गर्ने जनाएको छ । संघ र प्रदेश प्रहरी बीचको अधिकार बाँडफाँड गर्ने सम्बन्धमा ०७६ मा बनेको ऐनमा काठमाडौं उपत्यकालाई प्रदेश–३ मा राख्ने व्यवस्था गरेपछि विवाद भएपछि समायोजन प्रकृया अवरुद्ध बनेको थियो । अहिले अध्यादेशमार्फत संशोधन गरिएको ऐनले उपत्यकाको प्रहरीलाई संघ मातहत राखेको छ । काठमाडौ उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर हेर्ने अहिलेको महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेर ‘संघिय राजधानी प्रहरी कार्यालय’ राखिएको छ । उपत्यकाका ३ जिल्लाका ठूला अपराध अनुसन्धान गर्ने युनिट अपराध महाशाखालाई पनि केन्द्र मातहत राखिएको छ । महाशाखाको नाम परिवर्तन गरेर ‘संघीय राजधानी अपराध महाशाखा’ राखिएको छ । अध्यादेशले प्रहरी उपरिक्षक (एसपी) सम्मको सरुवा अधिकार प्रदेश सरकारलाई दिएको छ ।
अध्यादेशमा संघीय प्रहरी र प्रदेश प्रहरीको अधिकार क्षेत्रको कुरा तोकिएको छ । यसअघि बनेको कानुनमा बागमती प्रदेशले काठमाडौं उपत्यकाको प्रहरी पनि आफु मातहत हुनुपर्ने दावी गरेपछि विवाद भएको थियो । १४ साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका गृहमन्त्रीहरुबीच उपत्यका प्रहरी केन्द्र मातहत राख्ने सहमति भएको थियो । सो सहमतिअनुसार मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले कारागारको व्यवस्थापन र अध्यागमनका मुद्धा प्रहरीले हेर्न पाउनुपर्ने माग राख्दै आएको थियो । तर, अध्यादेशले सो अधिकार दिएको छैन् । तर बाग्मती प्रदेशले भने यी सबै अधिकार र कार्यालय आफू मातहत राख्नुपर्ने जनाएका थिए । प्रहरी समायोजन विधेयक सम्बन्धी छलफलमा बाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेले प्रदेश समायोजन अध्यादेशको विरोध गर्दै आएका छन् । ‘हामी संवैधानिक कानुनी उपचारको उपाएका लाग्नेछौ प्रहरी समायोजन अध्यादेश मान्दैनौ’, बाग्मती प्रदेशका आन्तरिक मामिला मन्त्री जमरकट्टेलले भने । प्रहरी समोजन अध्यादेश संविधान विपरित रहेकाले संघीयता विरोधि समेत भएको दावी गरे । ‘संविधान संशोधन नभइ जारी भएको अध्यादेश बाग्मती प्रदेशलाई स्वीकार छैन हामी लागु गर्दैनौ’, आन्तरिक मामिला मन्त्री जमरकट्टेलले भने । तर प्रदेश २ ले एक हप्ता अघि प्रहरी समायोजन प्रकृया थाल्न गृहमन्त्रालयलाई आग्रह गरेर पत्रचार गरेको थियो ।