काठमाडौं । साउन महिनामा अस्वभाविक रुपमा बढेको रेमिट्यान्स भदौमा घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान वित्तीय एवं आर्थिक स्थिति अनुसार चालु आर्थिक वर्षको साउनमा गत वर्षकाे साउनकाे तुलनामा रेमिट्यान्स बढ्दै ९२ अर्ब ७३ करोड रुपैयाँ नेपाल भित्रिएको छ । तर, भदौमा साउनको तुलनामा रेमिट्यान्स घटेको छ ।
नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार चालु आर्थिक वर्षको भदौमा पोहोरको भदौकै तुलनामा रेमिट्यान्स भित्रिएको छ । ‘७५ देखि ८० अर्बको हाराहारीमा भित्रिएको प्रारम्भिक अनुमान हो’ राष्ट्र बैंकका ती अधिकारीले भने, ‘साउन महिनाको जति भदौमा पुग्दैन भन्नेमा चाँही ढुक्क छौं ।’
यद्यपि राष्ट्र बैंकले औपचारिक रुपमा तथ्यांक सार्वजनिक गर्न बाँकी नै छ ।
भदौमा ८० अर्ब रुपैयाँकै हाराहारीमा भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको भदौकै हाराहारीमा हो ।
गत वर्षको भदौमा ७८ अर्ब ३३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोख्रेलले भदौमा निषेधाज्ञा भएका कारण साउनको तुलनामा रेमिट्यान्स घटेको बताए । ‘भदौमा लकडाउन भएका कारणले घटेको हो’ उनले भने, ‘साउनमा असारको भन्दा घटेको हो । अघिल्लो सालको तुलनामा घटेको हो ।’
भदौमा ८० देखि ८५ अर्ब रेमिट्यान्स भित्रिएको रेमिट्यान्स एसोसिएसनको अनुमान छ ।
अध्यक्ष पोख्रेलले असारको तुलनामा साउनमा घट्ने र साउनको तुलनामा भदौमा रेमिट्यान्स घट्नु स्वभाविक रहेको बताए ।
साउनमा रेमिट्यान्स बढ्यो निक्षेप घट्यो
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक स्थितिको विवरण अनुसार चालु आर्थिक वर्षको साउन महिनामा पोहोर सालको साउनको तुलनामा रेमिट्यान्स २३ प्रतिशतले बढेको छ ।
पोहोर साल साउनमा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु आर्थिक वर्षको साउनमा ९२ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्याङ्क छ ।
तर, पोहोर साल साउनको भन्दा चालु आर्थिक वर्षको साउनमा बैंकिङ क्षेत्रको निक्षेप भने घटेको छ ।
पोहोर साल साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा निक्षेप शुन्य दशमलव १ प्रतिशतले घटेको छ ।
रेमिट्यान्स बढ्नु र निक्षेप घट्नुले मुलुकले दुरगामी लाभ नलिइरहेको संकेत गर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘९२ अर्ब रेमिट्यान्स आउनु तर निक्षेप चाँही घट्नुले निक्षेप किन बढेन भन्ने प्रश्न चाँही उठ्छ’ थापाले भने, ‘सर्वसाधारणले बचत गर्ने सामथ्र्य त राख्दैन । खर्च नै गर्ने हो । तर, खर्च गरेको पैसा उद्योगी व्यापारी मार्फत बैंकमा आउनु पर्ने हो । त्यो नआउनुको कारण बैंकहरुले उचित ब्याजदर दिएनन् कि भन्ने पनि हुन्छ ।’
बैंकहरुले कोरोना महामारीको कारण देखाउँदै चालु आर्थिक वर्षमा निक्षेपको ब्याजदर घटाएका छन् ।
त्यसैकारण पनि बैंकिङ च्यानलमा पैसा नआएको र उद्योगी व्यवसायी घरमै पैसा राख्न बाध्य भएका हुनसक्ने थापाको भनाई छ ।
तर, बैंकरहरुले भने ब्याजदरका कारणले भन्दा पनि सरकारी खर्चका कारण निक्षेप घटेको बताएका छन् । एक बैंकरले सरकारी पुँजीगत बजेट कम खर्च भएका कारण निक्षेप घटेको बताए । ‘सरकारी क्यापिटल इक्सपेन्डिचर कम भएका कारण निक्षेप घटेको हो’ ती बैंकरले भने ।
सधैंका वर्षमा पुँजीगत बजेट कम खर्च आएको सरकारले यस वर्ष कोरोना महामारीको बहाना देखाउँदै झन कम भएको छ ।
चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा गत आर्थिक वर्षको सोही तुलनामा कम बजेट खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।