arrow

मोबाइल फोन बजारमा महंगीः मूल्य बढेका कारण आयात घट्याे, दशैं तिहारमा ग्राहकलाई छैन स्किम

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १४ बुधबार
mobile.JPG

काठमाडौं । कोरोना महामारीको प्रभाव मोबाइल फोन बजारमा व्याप्त देखिएको छ । कोरोना महामारी फैलिन नदिने अधिकांश देशले गरेको लकडाउन तथा निषेधाज्ञाको प्रभाव मोबाइल फोन बजारमा देखिएको हो ।

अधिकांश मुलुकका सरकारले आ–आफ्ना नागरिकलाई भीडभाडमा नजान आग्रह गरेपछि घर भित्रै बस्नु पर्दा स्मार्ट फोनको माग बढ्यो ।

विद्यार्थीको पढाई समेत प्रभावित हुने भएपछि अधिकांश विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्न थाले ।

अनलाइन कक्षा हुनेभएपछि  स्मार्ट फोनको माग ह्वात्तै बढेको नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । ‘विद्यार्थीहरुको कक्षा अनलाईनमार्फत हुनेभएपछि स्मार्ट फोनको माग बढ्यो’ अध्यक्ष बस्नेतले भने, ‘लकडाउन र निषेधाज्ञाका कारण घरभित्रै बस्नुपर्दा स्मार्ट फोन नभई नहुने भएकाले माग ह्वात्तै बढ्यो ।’

उनका अनुसार कोरोनाको महामारी फैलिएपछि मोबाइल फोनको व्यापार अनलाईन मार्फत हुने गरेको छ । तर, माग अनुसारको मोबाइल फोन आयात नभएकाे बस्नेत बताउँछन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा मोबाइल फोनको आयात घटेको छ ।

गत आर्थिक वर्षको साउन र भदौमा ११ लाख ४ हजार ५ सय १७ थान मोबाइल फोन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ लाख ९५ हजार ५ सय थान मोबाइल फोन आयात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमै मोबाइल फोनको माग बढेका कारण महंगी चुलिँदा नेपालमा बढी मूल्यको मोबाइल फोन आयात भएको देखियो ।

मूल्यको आधारमा हेर्दा गत वर्षको साउन –भदौको तुलनामा मोबाइल फोनको आयात बढेको देखिन्छ ।

गत आवको पहिलो दुई महिनामा ५ अर्ब १० करोड ४६ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ४ हजार थान मोबाइल फोन आयात भएकाे छ ।

चालु आवको पहिलो दुई महिनामा ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको ९ लाख ९५ हजार थान मोबाइल फोन आयात भएको छ ।

यसले पनि अन्तर्राष्ट्रिय बजारमै मोबाइल फोनको मूल्य बढेको देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमै माग अनुसारको उत्पादन नहुँदा मूल्य बढ्नु स्वभाविक हो नि’ अध्यक्ष बस्नेत भन्छन् ।

दशैं तिहारमा ग्राहकलाई छैन स्किम

मोबाइल बजारमा महंगी बढेका कारण मोबाइल फोनको आयात बढी देखिएपनि बजार भने सुनसान देखिन्छ ।

विशेष गरी विगतका वर्षहरुमा दशैं र तिहार नजिकिँदै गर्दा विभिन्न ब्राण्डहरुबीच अफरका होडबाजी नै चल्ने गरेकोमा यस वर्ष खासै उत्साह देखिँदैन । ‘ब्राण्डहरुले आ–आफ्नै तरिकाले स्किमहरु विस्तारै सार्वजनिक गर्लान्’ अध्यक्ष बस्नेत भन्छन् ।

कोरोना महामारीका कारण माग अनुसारको मोबाइल फोन प्रोडक्सन हुन नसकेको र नेपालमा समेत माग अनुसार आयात गर्न नसकेको अध्यक्ष बस्नेतको भनाई थियो ।



लोकप्रिय समाचार
नयाँ