सरकारले डा केसीको जीवनरक्षाको कुनै पहल नगरेकोमा चिकित्सक संघ रुष्ट
कठोर कदम चाल्ने संघको चेतावनी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १४ बुधबार
106
Shares
काठमाडौं। नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द सत्याग्रहमा बसेको १७ औं दिन भईसक्दा पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकार आफैले डा. केसीसँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौता कार्यान्वयन सहितको माग राख्दै केसी १९ औं पटकको सत्याग्रहमा छन् । सरकारले यसअघी जनाएका प्रतिबद्धता अनुसार केसीका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भई सकेको संघले स्मरण गराएको छ ।
सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्वसाधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व भएको संघले प्रष्ट पारेको छ। सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ सरकारसँग जोडदार माग गरेको छ ।
डा. केसीको जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले कठोर कदमहरु चाल्ने गम्भिर परिस्थिति सिर्जना नगर्न सचेत गराउँदै संघले वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको महासचिव डा. बद्री रिजालले विज्ञप्ती निकाली जनाएका छन् ।