हङकङ । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेसँगै अमेरिकाले त्यसको विरोध गर्दै आएको छ । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गर्दै स्वतन्त्रता र प्रजातन्त्र पक्षधरहरुलाई नियन्त्रणमा लिने र यातना दिने काम गरिरहेको छ ।
चीनको उक्त कदमपछि हङकङमा रहेका विभिन्न अन्तर्राष्ट्रिय संगठनहरु बाहिरिएका छन् । संयुक्त राज्य अमेरिकाले पनि हङकङका लागि नयाँ यात्रा सतर्कता जारी गरेको छ ।
हङकङमा पछिल्लो समय प्रतिबन्धहरु थप कडा गरिएकाले अमेरिकाले आफ्ना नागरिकरुलाई हङकङ यात्रा सकेसम्म नगर्न यात्रा एड्भाइजरी जारी गरेको हो । यसले हङकङको अन्तर्राष्ट्रिय छविमा ठूलो धक्का लागेको छ ।
अमेरिकाले सोमबार अमेरिकीहरुलाई हङकङको यात्रा तालिका "पुनर्विचार गर्न" आग्रह गरेको हो । बेइजिङले "एकतर्फी र मनमानी ढंगले हङकङमा प्रहरी र सुरक्षा शक्ति परिचालन गरि शक्तिको दुरुपयोग गर्दै निर्दोष व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिने गरिरहेको अमेरिकाको आरोप छ ।
हङकङमा गत जुन ३० मा चीनले नयाँ सुरक्षा कानुन जारी गरेको छ । त्यसयता धेरै हङकङका प्रजातन्त्र समर्थकहरु पलायन भएका छन् भने केहि पक्राउ परेका छन् । धेरैजसोलाई ताइवानले आश्रय दिएको छ । चीनले ताइवानलाई समेत आश्रय नदिन चेतावनी दिएको छ ।
गत वर्षको प्रजातन्त्र समर्थित आन्दोलनमा सहभागीहरुलाई नयाँ कानुनअन्तर्गत देश टुक्र्याउन खोजेको आरोपमा चीनले नियन्त्रणमा लिने काम गरिरहेको छ ।