बझाङ । प्रहरीले २५ किलो लागुऔषध (चरेश) सहित बझाङका दुई जनालाई पक्राउ गरेको छ।
बझाङको वित्थडचिर गाउँपालिका २ लिम भन्ने स्थानमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले २५ किलो चरेससहित बझाङ बुङ्गल नगरपालिका २ का २५ वर्षीय धन बहादुर धामी सोहि वडाका बनभ्वां बस्ने २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) बाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेश बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चरेससहित पक्राउ परेका दुबैजनालाई अहिले प्रहरी चौकी वित्थडचिरमा राखिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।