arrow

सिन्धुलीगढी विजयोत्सव सन्दर्भः सिन्धुलीगढी चित्र कथाको बिमोचन  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १५ बिहिबार
samriddha-sindhuligadhi.jpg

काठमाडौं। समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढी गढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिन असोज १५ को अबसरमा सिन्धुलीगढी चित्रकथा पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तकको काठमाडौंमा पर्यटनमन्त्री योगेश भट्टराइ, पूर्वमन्त्री हरिवोल गजुरेल, सांसद गणेश पहाडी, इतिहासकार प्राध्यापक दीनेशराज पन्त र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले संयुक्त रुपमा गरे । त्यस्तै सिन्धुलीमा एकै समय आयोजना गरिएको कार्यक्रममा कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीले उक्त पुस्तक बिमोचन गरे। 

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवतको १४ औं शताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ ।

पुस्तक विमोचन गर्दै मन्त्री भट्टराईले तराइबाट नजिक रहेका सिन्धुलीगढी, सिन्धुलीकै फिक्कल जस्ता स्थानलाई गर्मी छल्न जाने हिल स्टेशनका रुपमा विकास गर्ने तयारी गरेको बताए। उहाँले यस्तो अंग्रेजसँग युद्ध भएको सिन्धुलीगढीलाई अहिलेको समयमा नेपाल बेलायत मैत्री स्थलका विकास गर्न सकिने पनि बताए।

पूर्वमन्त्री हरिबोल गजुरेलले सिन्धुलीगढीको ऐतिहासिक दरबार पुननिर्माण गर्न सरकारले पहल गर्नुपर्ने बताए। उनले सिन्धुलीगढी दरबार पुनर्निर्माण र गढीको संरक्षण कार्यलाई तीब्र गतिमा अगाडि बढाउन मन्त्रालयको ध्यानाकर्षण गराए ।

इतिहासकार प्रा. दिनेशराज पन्तले सिन्धुलीगढीले नेपालको एकिकरणमा समेत भूमिका निर्वाह गरेको बताउँदै उक्त स्थलमा जथाभावी संरचना निर्माण गरेर इतिहास मेटाउनु नहुने बताए।

समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष गर्दै आएको राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा यस बर्ष कोभिड १९ का कारण गर्न नसकिएको बताउँदै आगामी बर्षदेखि निरन्तरता दिने जानकारी दिए । अभियानले सन् २०१६ मा सुरु गरेको साइकल यात्रा ४ बर्षसम्म निरन्तर सफलतापूर्वक सम्पन्न भएको थियो । साइकल यात्रामाफर्त ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न अभियानले ब्यसाययिक यात्रा गराउन थालेको हो ।

कार्यक्रममा अभियानकर्मी डण्ड गुरुङ, कर्मयोगी बद्री विक्रमथापा स्मृति सेवा गुठीका कोषाध्यक्ष किरण थापाले सिन्धुलीगढीको ऐतिहासिक महत्व र चित्रकथाका विषयमा चर्चा गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ