काठमाडौं । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।
अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकाल्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको नोक्सानीमा १ सय ९१ रन बनाएको थियो ।
कप्तान रोहित शर्माले ४५ बलमा ७० रन बनाए । यस्तै केइरन पोलार्ड नटआउट ४७ तथा हार्दिक पाण्डयले नटआउट ३० रन बनाए ।
जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले यसअघि तीन खेलमा एक जित र दुई हार व्यहोरेको थियो ।
पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो । तेस्रो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो ।
४ खेलमा २ अंक जोडेको पन्जाबको यो तेस्रो हार हो । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । दोस्रो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।
यस्तै तेस्रो खेलमा पन्जाबलाई राजस्थान रोयल्सले ४ विकेटले हराएको थियो ।
अंक तालिका
दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरको सामान ४–४ अंक छ । पन्जाब, सनराइजर्स हैदराबाद र चेन्नईको २–२ अंक छ ।
शुक्रबारको खेल
शुक्रबार चेन्नई र हैदराबाद भिड्दै छन् । दुवै टिम पुछारमा छन् ।
खेल बेलुकी ७ः४५ बजे दुबाई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।