arrow

बाइस सय एघार पर्ने मिटरबक्सलाई नियम विपरीत अठतीस सय रुपैयाँ लिएको खुलासा

logo
अमृत बास्तोला, 
प्रकाशित २०७७ असोज १६ शुक्रबार
meterbox-price.jpg

तेह्रथुम । नेपाल विद्युत प्राधिकरणबाट २ हजार २ सय ११ रुपैयाँमा उपलब्ध हुने मिटर बक्सलाई नियम विपरित आठराईमा प्राधिकरणकै कर्मचारीले एउटा मिटर बक्सलाई ३ हजार ८ सय रुपैयाँमा बिक्री गरेका छन् । 

नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रको आठराई फियुज सेवाका प्रमुख वीरेन्द्र सरदारले एउटा मिटरबक्सलाई ३ हजार ८ सय रुपैयाँ लिएर उपभोक्ताहरुलाई बिक्री गरेको स्वीकार गरेका छन् । 

आठराई फियुज सेवाका प्रमुख सरदारका अनुसार मिटरबक्सलाई २ हजार २ सय ११ रुपैयाँ, जडान खर्च ५ सय रुपैयाँ, मिटरबक्समा लाग्ने एमसीबीको ७ सय रुपैयाँ, ३ सय ८९ रुपैयाँ ढुवानी खर्च र फारम संकलन गर्ने व्यक्तिहरुको भत्ता सहित गरेर ३ हजार ८ सय रुपैयाँ लिएर उपभोक्तालाई मिटरबक्स उपलब्ध गराएको बताए । 
    
नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका अनुसार उपभोक्ताले एउटा मिटर बक्सको २ हजार २ सय ११ रुपैयाँ मात्र तर्नुपर्छ । मिटरको १ हजार ७ सय १२ रुपैयाँ ३९ पैसा, सिलको १ सय रुपैयाँ, आवेदन फारमको ५० रुपैयाँ, सेवा शुल्क १०० रुपैयाँ र भ्याट २ सय ४८ रुपैयाँ ६१ पैसा गरी एउटा मिटर सेटको जम्मा २ हजार २ सय ११ रुपैया मात्र उपभोक्तले तिनु पर्ने हुन्छ । 

मिटरबक्स जोड्दा कुनै पनि उपभोक्ताले जडान शुल्क तिर्नु नपर्ने विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख प्रेमबहादुर भण्डारीले बताए । 

प्राधिकरणका कर्मचारीको सम्पूर्ण खर्च प्राधिकरणले गर्नुपर्ने नियम रहेको र नियम विपरित उपभोक्ताहरुबाट कुनै पनि शुल्क लिन नापाइने प्रमुख भण्डारीले बताए । 

आठराई फियुज सेवाको कार्यालयमा दुई जना मात्र कर्मचारी भएको र दुईजना कर्मचारीले सबै काम गर्न नसक्ने भएकाले आफैले राखेका ११ जना कमदारलाई पारिश्रमिक दिनको लागि उपभोक्ताहरुबाट अतिरिक्त शुल्क लिएको फियुज सेवा आठराईका प्रमुख सरदारको भनाई छ । कर्मचारीलाई व्यक्तिगत कामदार नियुक्ति गर्न कुनै कानुनले अधिकार नदिएको प्राधिकारण तेह्रथुमले जनाएको छ ।
 
मिटरबक्समा लाग्ने एमसीबी पनि फियुज सेवाका कर्मचारीले नै स्थानीय बजार मूल्य भन्दा बढी शुल्क लिएर उपभोक्तालाई बिक्री गर्ने गरेका छन् । स्थानीय बजारमा २ सय ५० देखि ४ सय मुल्य पर्ने एमसिबीलाई फियुज सेवा आठराईका प्रमुख सरदारले ७ सय मूल्यमा बिक्री गरेको बताए । 

गाउँमा मिटरबक्सको आवेदन फारम संकलन गर्न फियुज सेवा आठराईले विभिन्न समिति बनाएको जनाएको छ । गाउँमा बनेका समितिले नै आवेदन फारम र मिटरबक्सको ३ हजार ८ सय रुपैया संकलन गरेर फियुज सेवा कार्यालय सम्म ल्याउने गरेको बताइएको छ । 

यता आठराई गाउँपालिका वडा नं ६ चुहानडाँडामा भने वडा कार्यालयबाट नै  मिटरबक्सको ३ हजार ८ सय रुपैयाँ र आवेदन फारम संकलन भएको स्थानीय रामचन्द्र थपलियाले बताए । मिटरबक्सको मूल्य ३ हजार ८ सय रुपैयाँ नै भनेपछि वडा कार्यालयमा उक्त शुल्क र आवेदन फारम बुझाएको थपलियाको भनाई छ । 

वडामा आएको सबै आवेदन फारम र मिटरबक्सको ३ हजार ८ सय रुपैयाँ सम्बन्धित प्राधिकरणका कर्मचारीलाई बुझाँएको वडा सचिव सुन्दर कन्दङवाले जनकारी दिए । उपभोक्ताहरुले तिरेको ३ हजार ८ सय रुपैयाँको बिल अहिले पनि पाएका छनैन् ।

आर्थिक वर्ष २०७६–०७७ मा आठराई गाउँपालिका वडा नं १ संक्रान्तिबजारमा १०० घर, वडा नं २ खाम्लालुङमा ११० घर, वडा नं ४ ईवामा ४५ घर, वडा नं ५ छातेढुङ्गामा २५० घर र वडा नं ६ चुहानडाँडामा १५० घर गरी ६५५ घरमा मिटर बक्स जोडिएको आठराई फियुज सेवाले जनाएको छ । 

आठराईमा तेह्रथुमको जिरीखिम्ती सबस्टेसन हुदै मिन्छायेम गाउँपालिकाको मोराहाङ फिडरबाट ११ केभी विद्युत लाईन विस्तारको काम भइरहेको छ ।



लोकप्रिय समाचार
नयाँ