अपहरण र फिरौतीको आरोपित डेभिडलाई छुटाउन एनआरएनए सक्रिय भएको आरोप
नेकपाका नेताहरु पनि मुद्धा कमजोर बनाउन दवाव दिदै
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
107
Shares
काठमाडौं। मलेसियामा रहेर म्यानपावर तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड अपहरण र फिरौतीको आरोपमा काठमाडौंमा पक्राउ परे लगत्तै उनलाई छुटाउन सत्तारुढ नेकपाका नेताहरु सहित एनआरएन मलेसियाका जिम्मेवार व्यक्तिहरु पनि लागिपरेको पाइएको छ ।
आफ्नै कामदारलाई विभिन्न आरोप लगाउँदै बन्धक बनाएर फिरौती लिने डेभिड पक्राउ परेपछी छुटाउन एनआरएन मलेसियाका जिम्मेवार व्यक्तिहरु सकृय भएर लागेको पाइएको हो । उनीहरु पक्राउ परेका श्रेष्ठकी श्रीमतीलाई लिएर मलेसियास्थित नेपाली दुतावास पुगेका थिए। उनले पिडित कामदारलाई चोरीको आरोप लगाएर नेपाल प्रहरीलाई पत्र पठाउन दवाव दिएका थिए। नेपालमा पनि नेकपाका नेताहरुलाई उनीहरुले दवाव दिएका छन्।
आफ्नै रेष्टुरेण्टमा काम गर्ने दाङका महम्मद रैदासलाई ६ दिनदेखि अपहरण तथा बन्धक बनाई नेपालमा उनकी श्रीमतीबाट १६ लाख रकम लिएका डेभिड नेपाल आएर रकम निकाल्ने क्रममा पक्राउ परेका थिए । मोरङ सुन्दरहरैचा स्थायी घर भएका डेविड मलेसियामा गुण्डागर्दी अपहरण र अन्य अवैध धन्दामा पनि संलग्न रहँदै आएको उनलाई जान्नेहरु बताउँछन्। उनकै कारण झापाका विक्रम थेबे आफू मलेसिया छोडेर नेपाल फर्कनु परेको बताउँछन्।
डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अबैध तरिकाले लैजाने र त्यहाँ देहव्यापारमा समेत लगाउने गरेको समेत स्रोतको दाबी छ । डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथि समेत निर्घात कुटपीट गर्ने गरेको खुलेको थियो । मलेशियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्यादती गर्दै आएको पिडित नेपालीहरुले बताएका छन्।
(समाचारमा यसअघी एनआरएनएन मलेसियाका अध्यक्षको नाम असावधानीवश पर्न गएकोमा सच्याइएको छ। -सं)