arrow

विशाल ग्रुपको गोदाममा वाणिज्यको छापाः म्याद नाघेका चकलेट र स्कुनकरमा नयाँ मिति राखेर बिक्री

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै ९ जना पक्राउ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
bishal_bazar_anugaman._._._._._._._.jpg

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विशाल ग्रुपको ३ वटा गोदाम सिल गरेको छ।काठमाडौं कलंकीमा रहेको एउटा र बाफलमा रहेको दुईटा गोदाममा अनुगमन गर्दै  विभागले ती तीनवटै वटा गोदाम सिल गरेको हो । वाणिज्य विभाग स्रोतका अनुसार ती गोदाम विशाल ग्रुपका हुन् ।

विशाल ग्रुपले आयात गर्ने चकलेट, स्नुकर, ओरियो विस्कुट लगायतका वस्तु राखिएका ३ वटा गोदाममा बिहीबार सिल गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।

ती गोदाममा चकलेट, स्नुकर लगायतका म्याद नाघेका वस्तुमा नयाँ मिति लेखेर बजारमा पुनः पठाउने काम हुँदै आएको थियो ।

विभागका निर्देशक सागर मिश्रले म्याद नाघको वस्तु बजारबाट सस्तो लिएर गोदाममा नयाँ मिति राखेर पुनः बिक्री वितरण गर्ने ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढेको बताए । ‘डेट एक्सपायर वस्तुलाई बजारबाट आधा मूल्यमा किनेर नयाँ मिति राखेर बिक्री वितरणका लागि बजारमा पठाउने काम गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको छ’ मिश्रले हाम्राकुरासँग बिहीबार भने, ‘उनीहरुको आजदेखि बयान लिने काम सुरु हुँदैछ ।’

मिश्रले विभागले सिल गरेका गोदाममा विशाल ग्रुपले आयात गर्ने चकलेट, स्नुकर लगायतका सामानसँग मिल्दाजुल्दा वस्तु भेटिएपनि विशाल ग्रुपकै गोदाम हुन् भनेर पुष्टि नभएको बताए । ‘आजदेखि अनुसन्धान अघि बढ्दै छ’ उनले भने, ‘थप कुरा खुल्दै जानेछ ।’

नियन्त्रणमा लिइएका ९ जनाले आफुहरुले बजारबाट पुराना वस्तु खरिद गरेर ल्याएर नयाँ मिति राखेर बजारमा पठाउने गरेको स्वीकार गरिसकेका छन् ।

हाल महानगरिय प्रहरी प्रभाव दरबारमार्गको जिम्मा लगाइएका उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार समेत कारावाही गरिने विभागका निर्देशक मिश्रले बताए ।

तीनवटै गोदाममा करिब २ करोड रुपैयाँ बराबरको सामान रहेको र सामानको ठ्याक्कै परिमाण अहिले नै भन्न नसकिने विभागले जानकारी दिएको छ ।

उपभोग्य मिति सकिएका वस्तु उपभोग गर्दा त्यसको गुणस्तरमा आइसकेको ह्रासका कारण उपभोक्ताको स्वास्थलाई हानि पुग्ने सम्भावना हुन्छ ।

उपभोक्ताको स्वास्थमा गम्भीर असर पर्ने सम्भावना मध्येनजर गर्दै विभागले गोदाममा सिल गरी बिक्री वितरण बन्द गरेको हो ।

उपभोग्य मिति सकिएको थाहा पाएपछि उपभोक्ताले खरिद नगर्ने भएकाले उनीहरुले नयाँ मिति राखेर बिक्री वितरण गर्दै आएका विभागको दावी छ ।

पछिल्लो समय दशैं तिहार नजिकिएसँगै विभागले बजार अनुगमनलाई विशेष प्राथमिकतामा राखेको विभागका निर्देशक मिश्रको भनाई छ ।



लोकप्रिय समाचार
नयाँ