एजेन्सी। भारत र रुसबीच पछिल्लो समय सहकार्य बढेको देखिएको छ । यही सम्बन्धमा देखिएको सकारात्मक परिवर्तनले रुसको अर्को छिमेकी चीनमा आशंकासँगै तनाव बढाएको छ । चीन-भारत सीमा विवाद चलिरहेका समयमा पनि अपेक्षा अनुरुप आफूलाई साथ नदिई रुस भारततिर ढल्किएपछि चीन रुससँग असन्तुष्ट बनेको हो ।
चिनियाँहरुले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्महरुमा रुसको आलोचना गर्दा भारतको विरोध गरेका थिए । चीन-भारत सीमा समस्या उत्कर्षमा पुगेका बेला रुसले ३ जुलाई, २०२० मा भारतलाई ३३ वटा नयाँ लडाकू विमान बिक्री गर्ने सम्झौता गरेको थियो ।
चीन-भारतबीच गलवान उपत्यकामा हिंसात्मक झडपपछि विकास भएको रुस-भारत सम्बन्ध र लडाकू विमान बिक्री गर्ने सम्झौतासँगै रुसले एकस-४०० हवाई रक्षा प्रणाली सम्झौता भएभन्दा अघि नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
रूसी हतियारको सबैभन्दा ठूलो दीर्घकालीन खरिदकर्ता राष्ट्र भारत हो । भारतलाई हतियार बेच्न रुसी सैन्य उद्योगको विकासका लागि ठूलो महत्व छ ।
चीन र रुस पनि रणनीतिक साझेदार मुलुक हुन् । दुबै देशहरूले एक अर्कालाई उनीहरूको उच्च प्राथमिकताका राखेका छन् ।
रुसले तटस्थ रहन र मध्यस्थको रूपमा पर्याप्त काम गरेको छ र यसले अन्तर्राष्ट्रिय समुदायमा रुसको भूमिकाको प्रशंसासमेत हुने गरेको छ ।
रुस र चीन अमेरिकाको दबाबमा छन् । यसले बेइजिङलाई र मस्कोलाई एक हुन थप बल पुर्याउने गरेको छ । रुस र चीनको राम्रो छिमेकी हुँदाहुँदै पनि पछिल्लो समय भारतको पक्षमा रुस लागेको भन्दै चीनमा आलोचना भएको थियो ।
मस्कोले आफ्नो मौलिक हितका लागि चीन र रुस सम्बन्धलाई दृढतापूर्वक सुरक्षित गर्नसक्ने रुसले प्रतिक्रियासमेत दिएको थियो । चीन र रूस सम्बन्धहरू यस युगको शान्ति र मानवताको उपहार भएको चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।