arrow

गान्धी जयन्तीका अवसरमा भारतले नेपाललाई दियो ४१ एम्बुलेन्स र ६ बस

१९९४ यता ८२३ वटा एम्बुलेन्स १६० वटा विद्यालय बस नेपाली संघ संस्थालाई प्रदान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
ambulance-india-donation.jpg

काठमाडौं। महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले नेपालका विभिन्न ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरेको छ। गान्धी जयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी श्रद्घाञ्जली अर्पण गरेका थिए ।

नेपालका दुर्गम लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरिएको भारतीय दुतावासले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने उद्धेश्यले दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको दुतावासले जनाएको छ । 

सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले ८२३ वटा एम्बुलेन्स विभिन्न जिल्लामा काम गर्ने नेपाली संघ संस्थामार्फत नेपाललाई उपलब्ध गराइसकेको छ । राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका एम्बुलेन्स प्रदान गरेको छ। दुतावासले उपलव्ध गराएका एम्बुलेन्समा एडभान्स लाइफ सपोर्ट श्रेणी, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट श्रेणीका रहेका छन्। यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएको समेत दुतावासले जनाएको छ। 

एडभान्स लाइफ सपोर्ट श्रेणी अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् । बेसिक लाइफ सपोर्ट श्रेणीको एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुनेछन् । कमन लाइफ सपोर्ट श्रेणी अन्तर्गतका एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त छन् ।

छ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको बताइएको छ । नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारि राखेको निरन्तर  सहयोग अनुरुप उक्त एम्बुलेन्सहरु प्रदान गरिएको जनाइएको छ। उपलब्ध गराइएका बसहरुले विद्यार्थीहरुलाई आफ्नो सिकाई स्थलसम्मको पहुँचलाई सरल बनाउने अपेक्षा दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
नयाँ