प्रज्ञाका प्रकाशन सबै जिल्लामा पुर्याउन वितरण सञ्जाल
रासस,
प्रकाशित २०७७ असोज १७ शनिबार
104
Shares
काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू सातै प्रदेशका सबै जिल्लामा बिक्री वितरण गर्न सक्ने आधिकारिक सञ्जाल बनाएको छ। आधिकारिक विक्रेता छनोटका लागि प्राप्त बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहले बिक्री वितरणको जिम्मेवारी पाएसँगै प्रकाशनहरु देशका सबै भाग र विदेशमा समेत पुग्न सहज हुने भएको हो।
सम्झौतापत्रमा प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्याय र प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन्। सदस्यसचिव प्रा उपाध्यायले देशका सबै प्रदेशअन्तर्गतका जिल्ला र विदेशमा समेत पुर्याउन सो प्रकाशनलाई आग्रह गरेको प्रतिष्ठानका सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले जानकारी दिए। प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोषका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्रलगायतका विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिका प्रकाशन गर्दै आए पनि तिनले उचित बजार नपाएको गुनासो हुँदै आएको थियो।