काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार ४ बजेलाई तय भएको भनेर शुक्रबार साँझबाटै प्रचारित थियो । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब आधाघण्टा भएको भेटमा सचिवालय बैठक राख्ने कुरा मात्रै भएको थियो । भोलि पर्सीतिर सचिवालय बैठक राखेर कुरा गरौ भन्ने ओलीको प्रस्तावलाई प्रचण्डले पनि स्वीकार गरेका थिए । बैठकबारे महासचिवलाई केही जानकारी गराइएको थिएन । पार्टी प्रवक्तालाई पनि कुनै जानकारी गराइएको थिएन । शुक्रबार साँझ केही सञ्चार माध्यममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कोट गर्दे बैठकबारे जानकारी नभएको प्रतिक्रिया आइसकेको थियो ।
शनिवार विहान ओलीले प्रचण्डलाई फोनगरी सचिवालय बैठक आइतबारलाई तय गरौं भनेर प्रस्ताव गरे । प्रचण्डले पनि नमान्ने कुरै भएन । त्यसपछि प्रधानमन्त्री निवास वालुवाटारले महासचिव विष्णु पौडेललाई फोन गरेर आइतबारका लागि बैठक डाँक्न निर्देशन दियो ।
‘शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार अपराह्न ४ बजे बैठक बोलाउने समझदारी भएको बताइएको थियो, तर बाहिर त्यसको हल्लामात्रै भयो बैठक मिति र समय तय भएको रहेनछ’, महासचिव निकट स्रोतले भन्यो । शनिवार दिउसो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आइतबार ४ बजेका लागि खबर आएको जानकारी दिएका छन् । स्रोतका अनुसार दुई अध्यक्षकै सहमतिविना बैठकको समय तालिका तय नभएको र बाहिर आएको हल्ला मात्रै भएकाले आइतबार ४ बजेलाई बैठक राखिएको हो ।
आइतबार बस्ने बैठकमा यसअघि नै तय भएका र छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका नेताहरूले बताएका छन् । नेकपामा केन्द्रीय सदस्यलगायत पूर्णकालीन कार्यकर्तालाई तबल दिने, कोरोना कालभरि सांसदहरूले बैठक भत्ता नलिनेलगायत एजेन्डा छलफल हुन बाँकी छन् । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत बिहीबारदेखि दैनिकजसो भेटवार्ता हुँदै आएपनि मंगलबार, बुधबार र विहिबार भने भेटघाट हुन सकेको थिएन । तर शुक्रबार दिउसो दुई अध्यक्षबीच भएको भेटले शनिवार वा आइतबार सचिवालय बैठक राख्ने मात्रै कुरा भएको र दाङमा प्रदेश ५को राजधानी दाङको भालुवाङ तय गर्ने तथा नाम लुम्बिनी प्रस्ताव गर्ने विषयमा सहमति भएको स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री समेत रहेका ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेको र प्रचण्ड भने मन्त्रिपरिषद फेरबदल गरेर आफु अनुकलका मन्त्रीहरु राख्ने पक्षमा रहेका कारण तीन दिन उनीहरुबीच छलफल हुन सकेन । अझ विहिबार विहानको मन्त्रिपरिषद बैठकले डा. युवराज खतिवडालाई अमेरिका र निवर्तमान मूख्यसचिवलाई वेलायतको राजदूतमा सिफारिस गरेपछि भने विहिबारको भेटघाट नै रद्ध भएको थियो ।