arrow

सन्दीप लामिछाने सम्मिलित दिल्ली फेरि शीर्ष स्थानमा

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
ipl-delhi-capitals.jpg

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा फेरि शीर्ष स्थानमा पुगेको छ । 

सारजहाँमा शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकाल्दै पुनः शीर्ष स्थानमा ठाउँ बनाएको हो ।

दिल्लीले दिएको २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले ८ विकेट गुमाएर २ सय १० रन बनाउन सक्यो ।

नितिश रानाले ५८, इयान मोर्गनले ४४ तथा राहुल त्रिपाठीले ३६ रन बनाए ।

दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले ३८ बलमा नटआउट रहँदै ८८ रन बनाए । पृथ्वी शाले ४१ बलमा ६६ रन बनाए । ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए ।

कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए । 

सन्दीप फेरि खेल्न पाएनन्
दिल्लीले यो खेलमा पनि नेपाली खेलाडी सन्दीपलाई भने खेलाएन । 

तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौथो खेलमा दिल्लीको टिममा नपरेका हुन् ।

अंक तालिका 
जितसँगै दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । दिल्ली फेरि तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

कोलकाताले ४ खेलमा ४ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको कोलकत्ताको यो दोस्रो हार हो ।

रोयल च्यालेन्जर्स बैंगलोर ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । ४ खेलबाट ४ अंकसहित मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, कोलकाता, राजस्थान रोयल्स क्रमशः तेस्रोदेखि छैटौं स्थानमा छन् । 

किंगस इलाभेन पंजाब र चेन्नई सुपर किंगस २ अंकबाट पुछारमा छन् । 



लोकप्रिय समाचार
नयाँ