रत्ननगर । कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो ।
चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले कैदी तथा थुनुवाका लागि आफन्तले ल्याएको सर–सामान पनि फिर्ता पठाइएको बताए । “आफन्तले ल्याएको पैसालाई स्यानिटाइज गरी पुर्याउने व्यवस्था मिलाएका छौँ”, उनले भने, “कैदी तथा थुनुवाबीच सामाजिक दूरी कायम गराउन गाह्रो छ । बाहिरबाटै चेन ब्रेक गर्न सावधानी मिलाएका छौँ ।”
प्रमुख काफ्लेका अनुसार अन्य कुनै रोगको सङ्क्रमण हुन नदिन माछा, मासु खान पनि बन्द गरिएको छ ।
कारागारभित्रकालाई हालसम्म कोरोना देखिएको छैन । कैदी तथा थुनुवाको खानपानामा ध्यान दिइएकाले जटिल स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ ।
नयाँ आउने बन्दीलाई छुट्टै ब्लकमा दुई हप्ता अलग राख्ने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार सम्भावित जोखिमलाई हेरेर आइसोलेसन ब्लकसमेत बनाउने तयारी छ ।
करिब ३० श्ययाको आइसोलेसनकक्ष बनाउनेबारे छलफल भइरहेको काफ्लेले बताए । “अहिलेसम्म भित्र कोरोना सङ्क्रमण भेटिएको छैन र हामी उच्च सतर्क छौँ”, उनले भने, “बेलाबखत केहीको पिसीआर परीक्षण गराएका छौँ, सङ्क्रमण देखिहाले फैलिन नदिन आवश्यक पूर्वतयारी गरिसकेका छौँ ।”