काठमाडौं । हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध चिनियाँ दूतावास अगाडि आइतवार भएको प्रदर्शनबाट ३१ जना यूवा विद्यार्थी पक्राउ परेका छन्। सिजर भट्टको नेतृत्वमा गएको यूवाहरुको टोलीलाई प्रहरीले दुतावास अगाडीबाट पक्राउ गरेको हो। राष्ट्रिय झण्डा सहित बिरोध प्रदर्शनमा उत्रिएका यूवा विद्यार्थीहरुले चीनलाई अतिक्रमित भूमीबाट फिर्ता जान माग गरेका थिए।
पछिल्लो समय हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले भवनहरु बनाएपछि युवाहरु आन्दोलित भएका हुन् । उनीहरुले गो ब्याक चाइनाको नारा लगाएका थिए । नेपालीहरुले उपभोग गर्दै आएको भूमी मिचेर चीनले विस्तारवादी चरित्र प्रदर्शन गरेको उनीहरुको आरोप थियो । चिनियाँ अतिक्रमण बन्द गर, चिनियाँ दलाल होसियार भन्दै सिजर भट्टको नेतृत्वमा चिनियाँ दुतावास अगाडि भएको प्रदर्शनबाट भट्ट सहित अरूण जनाला, बासुदेव न्यौपाने लगायत ३१ जना गिरफ्तार भएका हुन्। उनीहरुलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको विद्यार्थी नेता मनिष सिंखडाले जानकारी दिए ।
यसअघी नेपाली कांग्रेसका यूवा नेता कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी, गोपी शिवाकोटी लगायत दर्जनौं युवाहरु सहभागी भएर दुतावास अगाडीको निषेधित क्षेत्रमै प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का, दिपेन्द्र खड्का हुन् । स्वतन्त्र यूवाहरुको समुहले पनि दुतावास अघी यसअघी प्रदर्शन गरेको थियो। रिपब्लिकन पार्टीले पनि यसअघी दुतावास अघी प्रदर्शन गरेको थियो। प्रदेश नम्बर ५को बर्दिया र कर्णाली प्रदेशको सुर्खेतमा पनि स्थानिय यूवाहरुले प्रदर्शन गरेका थिए।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले डेढ किलोमिटर यता आएर चिनियाँले भवन बनाए पनि सरकारले वास्ता नगरेको बताए।
सरकारले हतार हतार सीमाको बिषयमा टिप्पणी गर्नु रहस्यमयी भएको नेपाली कांग्रेसले बताएको बताएको छ।
हुम्लामा चीनको विस्तारवादी चरित्र देखिएको हुम्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता तथा पूर्वमन्त्री जीवन बहादुर शाहीले आरोप लगाएका छन् । शाही एक टोली सहित चीनले मिचेको भनिएको सीमा स्तम्भ ११ र १२ को निरिक्षण भ्रमणमा अहिले पनि सोहि क्षेत्रमै छन्।