arrow

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित, शीर्ष नेताहरु आइसोलेशनमा  

प्रधानमन्त्री ओलीका अत्यावश्यकबाहेक सबै भेटघाट बन्द

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १८ आइतबार
ncp-sachibalaya4.jpg

काठमाडौँ । प्रधानमन्त्री निवास वालुवाटारमा कार्यरत सुरक्षाकर्मी र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार सहितका सल्लाहकारहरुलाई कोरोना संक्रमण भएपनि नेकपा सचिवालय बैठक स्थगित भएको छ । आइतबार बेलुका ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नेकपाले जनाएको छ । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार, सचिवालयका कर्मचारी र केही सुरक्षाकर्मीमा कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीका सचिवालय सदस्य तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले केही दिन भेटघाटका कार्यक्रम पूर्णरूपमा बन्द गर्ने घोषणा गरेका छन् ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली उच्च सतर्कतासहित बालुवाटारमा आइसोलेसनमा बस्ने भएका छन् । प्रधानमन्त्री ओलीले गत बिहीबारको मन्त्रिपरिषद्को बैठकमा राजनीतिक नियुक्तिसम्बन्धी महत्वपूर्ण निर्णय लिएपछि नेकपाभित्र फेरि विवाद सुरु भएको छ । अध्यक्षद्वयबीच पार्टीभित्र देखिएको पछिल्लो विवादलाई सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो । सोहीअनुरूप आजको सचिवालय बैठक तय भएको थियो ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार,सचिवालय र सुरक्षा टोलीका सदस्यसहित ७० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेताहरु पनि आइसोलेशनमा बसेका छन् ।



लोकप्रिय समाचार
नयाँ