काठमाडौं। कोरोनाको महामारी बढ्न थाले पछि माथिल्लो तहका कर्मचारी विभिन्न बहाना बनाउँदै कार्यालयमा आउन छाडेका छन् । तर यस्तो सुविधा तल्लो तहका कर्मचारीलाई छैन, जसबाट कार्यालय सहयोगी, ड्राइभर, सूचिकार, माली तथा सरसफाइका काम गर्ने कर्मचारीहरु कोरोना संक्रमणको बढी जोखिममा पर्न थालेका छन् ।
स्थानीय तह, प्रदेश र संघमा समेत गरी देशभर करिब ६० हजार श्रेणीविहीन तल्लो तहका कर्मचारी (कार्यालय सहयोगी, ड्राइभर, माली, कुचिकार, सरसफाइ लगायतका कर्मचारी) कार्यरत छन् । संघमा मात्रै करिब १५ हजार कार्यालय सहयोगी ड्राइभर लगायतका कर्मचारी छन् । संघमा अस्थायी, ज्यालादारी तथा करारमा काम गर्ने कर्मचारीहरुको संख्या जोड्दा करिब २० हजार पुगको छ । यी कर्मचारीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित हुन न्युनतम मापदण्ड नबनाई काममा लगाइने गरेको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादरी श्रमीक संघकी अध्यक्ष बिमला आचार्यले बताइन् । ‘उहाँहरु (माथिल्लो तहका कर्मचारी)हरुलाई राज्यको ढुकटी जति प्रयोग गरे पनि केही हुँदैन । तर हामीलाई सुरक्षाको न्युनतम मापदण्ड पनि पुर्याइएको हुँदैन ’ उनले भनिन ।
माथिल्लो तहका कर्मचारीहरु आफू कन्टयाक्ट्र ट्रेसिङमा परेको या अन्य व्यक्तिगत काम देखाउँदै सकेसम्म कम कार्यालयमा आउने गरेका छन् । आए पनि थोरै समय कार्यालयमा बस्छन् । भदौको तेश्रो सातादेखि सरकारले सरकारी कार्यालयमा आलोपालो प्रणाली र दुई सिफ्ट प्रणाली खारेज गरेको छ । आलोपालो प्रणाली खारेज भए पछि सबै कर्मचारीलाई कार्यालयमा आउन उर्दी जारी गरिएको छ । तर माथिल्लो तहका कर्मचारीलाई यस्तो उर्दी लागु हुन्न ।
कार्यालयमा आए पनि माथिल्लो तहका कर्मचारीलाई विभिन्न किसिमका सुविधा दिइएको हुन्छ । चाहेको बेला उनीहरुले कोरोना परिक्षण गर्न पाउछन् । त्यो पनि सरकारको खर्चमा । तर तल्लो तहका कर्मचारीहरुले राज्यको खर्चबाट कोरोना परिक्षणको सुविधा समेत सजिलै पाउँदैनन् ।
हाकिमहरुलाई मास्क, स्यानिटारइजर, पञ्जा र आवश्यक पर्यो भने पीपीई (स्वास्थ्य सुरक्षा सामाग्री) समेतको सुविधा उपलब्ध गराइएको हुन्छ । तर तल्लो तहका कर्मचारीलाई मास्क, सेनीटाइजर, पञ्जा उपलब्ध गराउन समेत हाकिमहरु हिच्किचाउने गर्छन । तर तल्लो तहकै कर्मचारीहरु कार्यालयका कोठा, कोठामा तथा टेबुल, टेवुलसम्म पुग्ने गर्छन । हाकिमलाई चिया पुर्याउने नाममा कार्यालय सहयोगीहरू हाकिमका टेबुलमा पुग्नुपर्ने हुन्छ । यसैगरी हाकिमको टेबुल सफा गर्न सरसफाइका कर्मचारीहरु प्रत्येक टेबुलमा पुगेका हुन्छन्।
ड्राइभर, कार्यालय सहयोगीजस्ता तल्लो तहका कर्मचारीलाई हरेक दिन हाकिमहरुले कार्यालयमा बोलाउन गर्छन्। माथिल्लो तहका कर्मचारीहरु आलोपालो प्रणाली खारेज भए पनि आफू आफूमा आलापालो मिलाउने गरेका हुन्छन । ड्राइभर, कार्यालय सहयोगीहरुले आलपोला मिलाउन पाउँदैनन् ।
एक कार्यालय सहयोगीको गुनासो छ, ‘कतिपय सरकारी कार्यालयहरुमा तल्लो तहका कर्मचारीलाई हात धुने पानी समेत उपलब्ध गराइएको हुन्न । यहाँसम्म कि, चिया पकाउने कर्मचारीले साबुन समेत पाउँदैनन्।’ कार्यालयमा आए पछि माथिल्लो तहका कर्मचारीहरु भने क्षणक्षणमा साबुन पानीले हात धुने गरेका हुन्छन् । ‘तल्लो तहका कर्मचारीहरु संक्रमणमा परे भने यसको जोखिममा स्वाभाविक रुपमा हाकिमहरु पनि पर्नु हुन्छ तर उहाँहरुले यो कुरा उहाँहरु बुझ्न हुन्न’ संघीय मन्त्रालयका एक पियन भन्छन्।
तर पछिल्लो समय, तल्लो तहका कर्मचारी कोरोनाको मारमा परेका छन् नै। तर माथिल्लो तहका कर्मचारीहरुमा पनि संक्रमण देखिन थालेको छ । ठूलो संख्यामा सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत लगायतका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको संघीय मन्त्रालय स्रोतको भनाइ छ। तर मन्त्रालयसँग भने यसको रेकर्ड छैन। रेकर्ड खोज्ने काम भइरहेको संघीय मन्त्रालयका एक उपसचिवको भनाइ छ ।