arrow

गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चितवनमा प्रदर्शन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
govinda-kc-supporter-chitwa.jpg

चितवन । स्वास्थ्य क्षेत्रको सुधार लगायतको माग राख्दै २२ दिनदेखि अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको लागी भरतपुरमा प्रदर्शन भएको छ । सचेत नागरिक समाज चितवनको आयोजनामा चौबिसकोटीमा प्रदर्शन भएको हो । प्रदर्शनमा “डा केसीको जीवन रक्षा गर”, “डा.केसीका माग अबिलम्ब सम्बोधन गर” लगाएतका प्लेकार्ड र नारा लगाइएको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै सचेत नागरिक समाजका अभियन्ता दिनेश कोइरालाले सरकारले डा.केसी जस्ता सत्याग्रहीको माग सम्बोधन गर्न खुट्टा कमाएको बताए । उनले २ तिहाइको शक्तिशाली सरकार एउटा सत्याग्रहीको सान्दर्भिक मागको सम्बोधन गर्न डराएको आरोप लगाए ।

“डा.केसीको माग समग्र जनताको माग हो, एउटा सत्याग्रही २२ दिनदेखि यो देशको हितका निम्ति लडिरहेको छ । सरकार मन्त्री र सांसदकै रस्साकस्सीमा छ ।” कोइरालाले भने, “डा.केसीको माग सम्बोधन गर्दा सरकारलाई घाटा हुदैन ।”  उनले २४ घण्टा भित्र सरकारले बार्ता मार्फत डा केसीको माग सम्बोधन नगरे सारा नेपाली सडकमा उत्रिने चेतावनी दिदै भने, “जनता जागे पछि नेतृत्वको खराव प्रवृतिको अन्त्य हुनेछ ।”

समाजले डा केसीको माग सम्बोधनका निम्ति दवाव दिन मंगलबार दिउसो ११ बजे चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बताएको छ । सत्याग्रहकै क्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने केसीको मुख्य माग छ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई कृत्रिम अक्सिजन दिन थालिएको छ ।



लोकप्रिय समाचार
नयाँ