कानुनमन्त्री केसीको हुकुम- घिसारेर निकाली हाल (भिडियो)
सभामुखले दिने आदेश संसदीय अभ्यास विपरित आन्तरिक मामिला मन्त्रीले नै दिए
नारायण वली,
प्रकाशित २०७७ असोज १९ सोमबार
100
Shares
रुपन्देही । प्रदेश नं.५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले कानुनको पालना भन्दा पनि कानुनको अवहेलना गर्दै सांसदहरुलाई घिसारेर निकाल भन्ने उर्दी दिएका छन् ।
प्रदेश–५ को सोमवार वसेको वैठकमा कानुनमन्त्री केसीले प्रदेश सरकारले प्रस्ताव गरेको स्थायी राजधानी दाङलाई वनाउने प्रस्तावको विरोध गर्ने सांसदहरुलाई ‘घिसारेर निकाल’ भन्दै मर्यादापालकरुहलाई आदेश दिएका हुन् । यद्यपी संसदमा मर्यादापालकहरुलाई आदेश दिने काम गृहमन्त्रीले नभइ सभामुखले गर्नुपर्ने हुन्छ। तर उनले सो मर्यादालाई अवज्ञा गर्दै आफैले आदेश दिएका छन्।
आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले संसद भवनमा कार्यरत मर्यादा पालकहरुलाई उक्त निर्देशन दिदै सभामा असन्तुष्टि जनाउने सांसदहरुलाई घिसारेर बाहिर निकाल भनेका हुन् । प्रदेश सभामा विपक्षी दल र अन्य साना असन्तुष्ट दलहरुले नाराबाजी गरिरहेका बेला बोल्दै मन्त्री केसीले सुरक्षाका लागि आफ्नो दायाँ बाँया उभिएका मर्यादापालकहरुलाई ईसारा गर्दै निकाली हाल भन्ने आदेश गरेको भिडियोमा देख्न सकिन्छ ।
कानुनमन्त्रीले नै संसद जस्तो गरिमामय स्थानमा कानुन भन्दा माथि असभ्य भाषा प्रयोग गरेपछि अहिले सामाजिक सञ्जालहरुमा सो शब्दको चर्को विरोध हुन थालेको छ । सामाजिक सञ्जालमा लोकतान्त्रिक मुल्य मान्यतामा पनि आफ्ना धारणा राख्न नपाउनु कस्तो गणतन्त्र सहितको लोकतन्त्र हो भनी गुनासो समेत पोखिन थालेको छ।