arrow

बुटवलबाट राजधानी दाङ लगेर पौडेलसँग यसरी बदला लिए पोखरेलले

राजधानी सार्ने नेकपाको निर्णय पौडेललाई नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाको अनुहार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
bishnu-poudel-shankar-pokhr.jpg

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेल र ५ नं प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलबीचको टकराव प्रदेशको स्थायी राजधानी तोक्ने कुरामा देखिएको छ । ५ नं प्रदेशको राजधानी दाङमा लैजाने प्रस्तावपछि उनीहरुबीचको टकरावसँगै पार्टीभित्रको पुरानो तुष समेत उजागर भएको छ । महासचिव पौडेल र मूख्यमन्त्री पोखरलेबीच आइतबार वालुवाटारमै पनि विवाद भएको थियो । पार्टीका महासचिवले नै प्रदेश राजधानीमा असहमति जनाएपछि आइतबार दिउसो दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मूख्यमन्त्री पोखरेललाई काठमाडौ बोलाएर दुई जनाबीच छलफल गराउँदा छलफल भन्दा पनि भनाभनमा परिणत भई विवाद भएको थियो।

दुई नेताहरुबीच विवाद उत्पन्न भएपछि मूख्यमन्त्री पोखरेल बुटवल हिडेका थिए भने महासचिव पौडेल आफू नजिकका नेताहरुसँग छलफलमा जुटेका थिए । महासचिव पौडेल बालुवाटारको छलफलमा पनि एक्लै परेका थिए भने आफू निकटका नेताहरुसँगको छलफलमा पनि एक्लै परेपछि बुटवलमा राजधानी बन्ने संभावना न्यून बनेको थियो। ति बैठकहरुको जगमा मूख्यमन्त्री पोखरेललाई दाङको भालुवाङमा प्रदेश राजधानी बनाउन सजह भएको थियो । 

गत प्रतिनीधि सभाको निर्वाचनमा बुटवलवासीलाई प्रदेश राजधानी दिने आश्वासन सबैभन्दा बढी पौडेलले नै दिएका थिए । कांग्रेसले अस्थायी राजधानी तोकेको बेला पौडेलले बुटवललाई स्थायी राजधानीको रुपमा विकास गरिने भन्दै निर्वाचनमा भोट मागेका भिडियो क्लिपहरु अहिले पनि छरपस्ट रहेका छन् । तर पोखरेलले यो मुद्धामा पौडेललाई पछि पारेका छन् ।

किन त यस्तो ? 

तत्कालिन एमालेको नवौं महाधिवेशनको पदीय लडाईको रिस प्रदेश राजधानीमा पोखरेलले पौडेललाई फेरेको चर्चा यतिखेर पूर्व एमालेहरुमा हुन थालेको छ। जानकारहरुका अनुसार तत्कालिन एमालेका केपी ओलीका विश्वासपात्रका रुपमा पौडेल र पोखरेल दुवै जना महासचिव हुन चाहन्थे । तर ईश्वर पोखरेलले बाटो छेकेपछि उनीहरुले उपमहासचिवमा उम्मेदवारी दिए । त्यहाँ पौडेलले चुनाव जिते भने पोखरेल पराजित भए । पोखरेल पराजय हुनुमा पौडेलको हात रहेको भन्दै पोखरेल पौडेलसँग निकै रुष्ट थिए। त्यसपछि पार्टी एकिकरण हुँदा ईश्वर पोखरेललाई समेत पाखा लगाएर पौडेल महासचिव भए।

दुवै नेता एउटै प्रदेशका भएकाले उनीहरुबीच बेलाबखत पहिला पनि टकराव परिरहेको हुन्थ्यो तर अहिले भने पुरानो विषयलाई समेत पैंचो फेरेर पोखरेलले पौडेललाई पाखा लगाइदिए। यसमा ईश्वर पोखरेलले पनि साथ दिएको स्रोतको दावी छ । ' पार्टीभित्र एकाएक उचाई लिएपछि उनका धेरै शत्रुहरु जन्मे त्यसमाथि बुटवलमा प्रदेश राजधानी बनाउँदा पोखरेलको राजनीतिक करियर सकिन्थ्यो त्यही कारणले उनी जसरी पनि दाङमा राजधानी बनाउन चाहन्थे’, नेकपाका एक नेताले भने । उनको दाङमा संसदीय चुनावमा लड्दै गरेको क्षेत्रमा कृष्णबहादुर महरालाई छोड्न लगाउने एउटा पात्र विष्णु पौडेल भएको बुझाईपनि पोखरेलको रहेका कारण अहिले प्रदेश राजधानीमा पौडेललाई देखाईदिएका हुन् ।

शुक्रबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रदेश पाँचको राजधानी दाङको भालुवाङ राख्ने सहमति भयो । त्यसलगत्तै बसेको प्रदेश पाँच सरकारको मन्त्रिपपरिषद बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ सार्ने निर्णय गर्यो । यसमा विष्णु पौडेलले तुरुन्तै असहमति प्रकट गरे तर उनको कुनै जोड चलेन । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल बनाउने निर्णय गरेपछि पोखरेलले पहिलादेखिनै दाङ लैजाने बताउँदै आएका थिए । प्रदेश राजधानी दाङ सार्ने निर्णय भएसँगै मुख्य मन्त्री शंकर पोखरेलले राजीतिक रुपमा विजय हासिल गरेको टिप्पणी हुन थालेको छ भने नेकपा महासचिवसमेत रहेको विष्णु पौडलले अर्थ मन्त्री बन्ने लोभमा राजधानी सार्न दिएको आरोप लाग्न थालेको भएपनि उनलाई आफ्नो राजनीति सकिएकोमा चिन्ता रहेको स्रोतको दावी छ।

राजधानी सार्ने निर्णयपछि नेकपाभित्रै पनि विवाद सुरु भएको छ । ८७ सदस्यीय प्रदेश पाँचको प्रदेश सभामा नेकपा एक्लैको दुई तिहाइ बहुमत छ । प्रदेशको नाम र राजधानी तोक्ने दुई तिहाइ बहुमत आवश्यक पर्छ, जुन नेकपासँग छ । यस्तो अवस्थामा सरकारले प्रदेश सभामा पेश गरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुन ५८ मत आवश्यक पर्छ । प्रदेशसभमा नेकपाका ६१ सांसद छन्। जुन दुई तिहाइ भन्दा बढी संख्या हो। प्रदेश पाँचमा नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

राजधानी सार्ने बिषयमा सार्वजनिक खपतका लागि बिष्णु पौडेलले बिरोध जनाएपनि भित्री तहमा भने उनले सार्न अध्यक्षद्वयसँग स्विकारिसकेको पनि नेकपाकै एक नेताले बताए।  ‘विष्णु पौडेल पार्टीभित्र शक्तिशाली व्यक्ति हुनुहुन्छ। गुटको हिसावले पनि उहाँ र मुख्यमन्त्री एउटै गुटमा हुनुहुन्छ। पार्टीभित्रका विवाद समाधान गर्नेदेखि अन्य कतिपय विषयलाई उहाँले सल्टाउन सक्ने, तर राजधानीमा उहाँको केही लागेन भन्ने बारेमा उहाँलाई हामीले कसरी विश्वास गरौं’, नेकपाकै ति नेताले भने तर उनलाई न नेताको निर्णयमा बिरोध गरेर हिड्ने अवस्था छ। न स्विकारेर जाने अवस्था छ। यो उनको लागि नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाको अनुहार जस्तै भएको छ राजधानी दाङ सार्ने निर्णय । 



लोकप्रिय समाचार
नयाँ