काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल सङ्ख्या ५५४ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चाडबाडका समय नजीक आएकाले भाइरस थप फैलन सक्ने हुँदा जहाँ हो सोही स्थानमा बसी मनाउन र फोनबाट आशीर्वाद लिनदिन सबैलाई अनुरोध गरेका छन् ।
पछिल्लो २४ घण्टामा थप दुई हजार ४४० जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा गौतमले पछिल्लो समय देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७८१ न्मूना परीक्षण गर्दा ९३७ महिला र एक हजार ५०३ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हाल देशभरमा सक्रिय संक्रमितको सङ्ख्या २३ हजार ५०७ छ । यससँगै कुल संक्रमितको सङ्ख्या ८९ हजार २६३ पुगेको छ । सोमबार ११ हजार १९९ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६५ हजार २०२ छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ७३ प्रतिशत पुगेका छन् ।
संक्रमितमध्ये १२ हजार ३१६ होम आइसोलेशनमा र ११ हजार १९१ संस्थागत आइसोलेशनमा छन् । उनीहरुमध्ये २४४ जनाको सघन उपचार कक्ष र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म दश लाख ७८ हजार २२९ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार ३३ छ ।
प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय संक्रमित क्रमशः १ मा ९०५, २ मा ६४२ , वाग्मतीमा आठ हजार २९६, गण्डकीमा ५०६, ५ मा ८६३, कर्णालीमा ३६८ र सुदूरपश्चिममा २२१ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा एक हजार ७५१, २ मा ४७६, वाग्मतीमा सात हजार ५३२ , गण्डकीमा ५६२, ५ मा १२५६, कर्णालीमा २६५ र सुदूरपश्चिममा ४२१ छन् ।
सोमबारसम्म पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, सिरहा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, रुपन्देही र मोरङ छन् । त्यस्तै हाल संक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र रुकुम(पूर्व) छन् ।
काठमाडौं उपत्यकाका सोमबार एकैदिन एक हजार ५३१ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका एक हजार १७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।
भाइरस संक्रमितको सङ्ख्या हरेक दिन बढे पनि बजारमा सामान्य रुपमा झैँ चहलपहल बढेकाले अनावश्यक काममा भीडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार झाले अनलाइन कक्षा सञ्चालन गर्दा आँखामा तत्कालीन र दीर्घकालीन रुपमा असर पार्ने भएकाले दिनमा कम्तीमा दुई पटक सफा पानीले आँखा धुन र हरेक बीस मिनेटमा अनलाइन कक्षाबाट केही समय आराम लिन शिक्षकविद्यार्थीलाई सुझाव दिए ।