arrow

जसपा पार्टी गठन भएको ६ महिना, न संसदीय दल न केन्द्रीय समिति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २० मंगलबार
janata-samajwadi-party.jpg

काठमाडौं । तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादीबीच एकीकरण भई जनता समाजवादी गठन भएको झण्डै ६ महिना भएको छ तर अहिलेसम्म न संसदीय दलका नेता चयन भएको छ न केन्द्रीय समिति गठन भएको छ । ६ महिनासम्म पार्टी केन्द्रीय समिति बिहीन छ । यसैगरी संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक बिहीन पार्टी चलिरहेको छ । निर्वाचन आयोगमा दुई पार्टी एक भएको प्रमाणपत्र बुझाए पछि कानुनी रुपमा दुई पार्टी एक त भएका छन्, तर  व्यबहारिक रुपमा अहिले पनि दुई पार्टीका अलग अलग संसदीय दल छन् । आफना पार्टीका सांसदहरुको विषयमा निर्णय गर्नु परेमा सम्बन्धित संसदीय दलले गर्ने गरेका छन। सरिता गिरीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय तत्कालिन समाजवादी पार्टीको संसदीय दलको बैठक बसेर निर्णय गरिएको थियो । 

स्रोतका अनुसार एकीकृत पार्टीको संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा संसदीय दलका नेता चयन गर्न सकिएको छैन। दूई पार्टीवीच एकीकरण हुँदा नै आफूलाई एकीकृत पार्टीको संसदीय दलको नेता चयन गर्ने भनी अनौपचारिक सहमति गरिएको राजेन्द्र महतोको दावी छ। महन्थ ठाकुर संसदीय दलको नेता आफै हुन चाहन्छन । तत्कालिन राजपाको संसदीय दलका नेता ठाकुर थिए । यता, जसपाका अध्यक्ष उपेन्द्र यादव पार्टी अध्यक्ष मात्र नभइ संसदीय दलका नेता पनि छाड्ने पक्षमा छैनन । बाबुराम भट्टराई निकट नेताहरु भट्टराईलाई संसदीय दलको नेता बनाए भट्टराईप्रति न्याय हुने तर्क राख्छन् । तर यो स्वर भने त्यती बलियो छैन ।

पार्टीभित्र सहमति जुट्न नसक्दा जसपाका नेताहरुले केन्द्रीय समिति समेत गठन गर्न सकेका  छैनन्। भागबण्डामै समस्या भएको जसपाका नेताहरु बताउँछन् । कसलाई कति कोटा राख्ने भन्नेमा सहमति जुट्न सकेको छैन । तर जसपाका कार्यकर्ताहरु भने तत्काल केन्द्रीय समिति गठन गर्न पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । पार्टीको कार्यकारी समितिमा नपरेका नेता तथा कार्यकर्ताहरुलाई केन्द्रीय समिति र राजनीतिक समितिमा राख्ने आवश्वासन पार्टीका शिर्ष नेताहरुले दिएका छन् । त्यसैले ५१ सदस्यीय कार्यकारी समितिमा नअटाएकाहरु तुरुन्त केन्द्रीय समिति गठन गर्न पार्टी नेतृत्वलाई विभिन्न किसिमबाट दबाब दिइरहेका छन् । ‘पार्टी गठन भएको ६ महिना हुन लागेको छ तर अझैसम्म केन्द्रीय समिति गठन भएको छैन । यसबाट पार्टीप्रति नराम्रो सन्देश जाने सम्भावना रहन्छ’ तत्कालिन राजपाका सहमहामन्त्री जेपी यादवले भने, ‘त्यसैले तत्काल केन्द्रीय समिति गठन गर्न हामीले पार्टीका शिर्ष नेताहरुलाई दबाब दिइरहेका छौ ।’

अहिले पार्टी अध्यक्ष महन्थ ठाकुर अस्वस्थ छन । केही दिन अघि मात्र उनी नर्भिक अस्पताल गइ मुटुको फलोअप उपचार गराएका थिए । नर्भिक अस्पतालबाट डिस्चार्ज भए पछि उनी बेडरेष्टमा छन् । अहिले ठाकुर अस्वस्थ भएको कारण देखाउँदै जसपाका शिर्ष नेताहरुले केन्द्रीय समिति गठन गर्न आलटाल गरिरहेको पार्टीका एक नेताले बताए । पूर्व समाजवादीका नेताहरुका अनुसार भागबण्डामा पूर्व समाजवादीभन्दा पनि पूर्व राजपाका तत्कालिन ६ अध्यक्षबीचमै समस्या आएको छ । जसपामा केन्द्रीय समिति ७ सय १ र राजनीतिक समिति १ सय ५१ समिति बनाउने सहमति भएको छ । जस अनुसार ३ सय ५१ सदस्यको सिफारिश  तत्कालिन राजपाले गर्ने छ भने ३ सय ५० सदस्यको सिफारिश तत्कालिन समाजवादीले गर्ने भएको छ ।

राजपाले पाएको ३ सय ५० सदस्यको कोटामै समस्या आएको हो । राजपाका तत्कालिन दुई अध्यक्ष राजकिशोर यादव र अनिल झाले सुरुदेखि नै असन्तुष्टी जनाउँदै आएका छन् । यादव र झालाई मनाउन नसक्दा पनि केन्द्रीय समिति गठन हुन ढिलो भएको पार्टीका नेताहरु बताउँछन् । गत वैशाख १० गते मध्यरातमा हतार हतारमा तत्कालिन राजपा र समाजवादीवीच एकीकरण भइ जसपा पार्टी गठन गर्ने सहमति गरिएको थियो । त्यतीखेर पार्टी एकीकरण गर्ने सहमति बाहेक अरु बुँदामा सहमति गरिएको थिएन । त्यसैले यस्तो भद्रगोल देखिएको पार्टीका नेताहरु बताउछन् । 



लोकप्रिय समाचार
नयाँ