नेपालगञ्ज । नेपाली कांग्रेसका तर्फबाट ५ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद्हरुले दाङको भालुबाङकै पक्षमा मतदान गर्ने बताएका छन् । प्रदेशसभा सदस्य शंकर गिरी, डिल्ली बहादुर चौधरी र अर्जुन श्रेष्ठले दाङको भालुबाङ राजधानी र प्रदेशको नाम लुम्बिनीको पक्षमा मतदान गर्ने स्पष्ट पारेका छन् ।
सांसद् गिरीले प्रदेश ५ सरकारले ल्याएको प्रस्तावमा मतदान गरेरै दाङ फर्कने बताएका छन्। नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर ५ ले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपछि उनीहरुको यस्तो प्रतिक्रिया आएको हो । गिरीले भने-"प्रदेश ५ ले आज स्थायी राजधानी भालुबाङ र नाम लुम्बिनी पाउँछ, दिप प्रज्ज्वलन गर्न तयार हुनुहोस् ।"
गिरीले गलत ह्वीपको मतियार बनेर दंगाली जनतामाथि अन्याय हुन नदिने बताए । सांसद् चौधरीले पार्टीले ह्वीप जारी गरेपनि ह्वीप नमान्ने बरु कारबाही भोग्न तयार रहेको बताए ।