arrow

भक्तपुरको तलेजुमा बडादशैंमा बलि नदिइने

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
taleju-mandir.jpg

भादगाउँ । यस वर्षको बडादशैंमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय र  महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीसहितको बैठकले कोरोना महामारीका कारण तलेजुमा विधिपूर्वक पूजा गर्ने तर बलि नदिइने निर्णय गरेको हो । भक्तपुरमा तलेजुमा सर्वसाधारणले बाहेक सरकारीस्तरमा गुठी संस्थानले मात्र बडादशैँ अवधिमा ६० बोका, ३१  राँगा र  ३०  हाँस बलि दिने प्रचलन छ ।

बैठकले विजयादशमीका अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पूजामा बलि नदिइने र तलेजु भवानीको पूजा स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी विधिपूर्वक सामान्य  मात्र गरी सीमित गरिने निर्णय गरेको हो ।

त्यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म नगरका विभिन्न शक्तिपीठमा हुने मेला, पूजा र नवरात्रका समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरमा नजानका लागि जनतालाई आह्वान गर्ने निर्णयसमेत गरिएको छ ।

 बैठकले दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।नगर प्रमुख प्रजापतिले जात्रा र पर्वलाई औपचारिकतामा सीमित गरी मनाइने निर्णयमा जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
नयाँ