काठमाडौँ । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोभिड–१९ को संक्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आफूहरुलाई संक्रमण भएको सामाजिक सञ्जालबाटै जानकारी गराए।
मुख्य सल्लाहकार रिमालले संक्रमण देखिएपछि शनिबार सामाजिक सञ्जालमा लेखेका थिए “हिजो पिसिआर परीक्षण गराउँदा कोभिड–१९ पोजिटिभ देखियो । यसैबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।” यस्तै प्रेस सल्लाहकार थापाले पनि गत शनिबार नै “हिजोको पिसिआर परीक्षणको क्रममा ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहेका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु,” भनेर लेदेका छन्।
यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले पनि यही असोज १७ गते शनिबार आफू संक्रमित भएको जानकारी सामाजिक सञ्जालबाट गराउनुभयो । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको बताए । उनले आफ्नो सम्पर्कमा रहेका सबैले सजगता अपनाउनु हुनसमेत अनुरोध गरे । पहिले संक्रमितले न आफूले संक्रमण भएको जानकारी गराउथे, न सरकारले नै । अहिले यसरी कोभिड–१९ को संक्रमितहरु आफैँ खुल्न थालेका छन् । विशेषगरी सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै आएका छन् । यस सूचीमा थुप्रै राजनीतिक दलका नेता, कलाकार, चिकित्सकलगायत अन्य व्यक्तिहरु छन् ।
उनहरु जस्ता समाजका जिम्मेवार व्यक्तिले आफू संक्रमित भएको जानकारी गराउँदै संक्रमणबाट बच्न सबैलाई अनुरोधसमेत गरेका छन् । सरकारले संक्रमितको बारेमा जानकारी नगराए पनि संक्रमित आफैँ खुल्न थालेका हुन् । अहिले संक्रमित भएको अवस्थामा नै उनहरुले कोभिड–१९ बाट बच्नका लागि उच्च सर्तकता राख्नसमेत अनुरोध गर्दै सामाजिक सञ्जालमा भिडियो बनाउने गरेका छन् । नेपालको पहिलो संक्रमित को हो भनेर अझै सरकारले खुलाएको छैन ।
चीनको वुहान शहरबाट नेपाल आएका ती व्यक्ति को हुन् कहिले संक्रमण भएको र कहिले निको भएको हो भन्ने सरकारले अझै औपचारिक रुपमा जानकारी गराएको छैन । ती व्यक्तिलाई माघ १० गते संक्रमण भएको मात्र मन्त्रालयले अनौपचारिक रुपमा जानकारी गराएको छ । अहिले संक्रमण फैलिन थालेपछि संक्रमितहरु भने आफैँ संक्रमण भएको जानकारी गराउँदै आएका छन् । अहिले नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले कोभिड–१९ बाट संक्रमित, निको र निधन हुनेको जानकारी गराउँदै आएका छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि संक्रमित भएको रिर्पोट सिधँ सम्बन्धित व्यक्तिलाई दिने भनेको छ । पहिले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र रिर्पाेट दिने गर्दथ्यो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले संक्रमित व्यक्तिले अरुलाई पनि संक्रमण नहोस् भनेर जानकारी गराउन पनि संक्रमित खुल्ने गरेको बताउछन् । उपत्यकामा पनि घरबेटीले चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत सर्वसाधारण संक्रमितलाई बस्न नदिएको कुरा सार्वजनिक भएको थियो । मन्त्रालयले पटकपटक संक्रमितलाई घरबाट ननिकाल्न घरबेटीलाई आग्रह गर्दै आइरहेको छ ।
मनोचिकित्सक डा अरुणा उप्रेतीले कोभिड–१९ को त्रास कम हुँदै जानु र विस्तारै सचेतना फैलिँदै गएपछि संक्रमित खुल्न थालेको बताछिन् । उनले अहिले शिक्षित, बुद्धिजीवी संक्रमणबारे खुल्न थालेको बताइन् । “पहिले पनि क्षयरोग, कुष्टरोग, एचआइभी एड्सजस्ता रोगलाई लुकाउने गरेको थियो । औषधि बनेपछि ती रोगका बिरामी आफैँ खुल्न थालेका थिए” उनले भनिन्, “शुरु शुरुमा कोभिड–१९ लागेको मानिसलाई संक्रण देखिएपछि घरपरिवार र समुदायका मानिस सबैलाई सर्छ भन्ने थियो । अहिले त्यस्तो देखिएन । कोभिड–१९ केही होइन भन्ने मानिसमा सचेतना भयो । त्यही भएर खुल्न थालेका छन् ।”
कोभिड–१९ बाट संक्रमित पत्रकार मात्रिका पौडेलले सार्वजनिक ठाउँ समारोहमा जाने व्यक्तिमा संक्रमित भयो भनेर जानकारी गराउँदा सम्पर्कमा आएमा मानिसले सतर्कता अपनाउने बताउछन् । उनलाई गत बिहीबार संक्रमण भएको थियो । उनले आफू पहिल्यैदेखि नै जनतासँग प्रत्यक्ष भेटघाट गर्ने व्यक्ति संक्रमित भएको खण्डमा सबैलाई जानकारी गराउनु भन्दै आएको बताए । “हामी धेरै मानिससँग सम्पर्कमा गएका हुन्छौँ,” उनले भने, “हामीले को कोलाई भेटेको भन्ने थाहा हुँदैन । त्यही भएर सार्वजनिक व्यक्तिले संक्रमण भएको जानकारी गराउँदा अरुले सजकता अपनाउँछन् ।”
मनोचिकित्सक डा उप्रेतीले अहिले पनि गाउँघरमा संक्रमित खुल्न नसकेको बताउछिन् । उनले समाजमा संक्रमितलाई भेदभावको रुपमा हेर्ने जस्ता क्रियाकलाप हुँदै आएको जानकारी दिइन् । नेपालमा आजसम्म ९० हजार ८१४ संक्रमित, ६७ हजार ५४२ निको र ५६३ निधन भइसकेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बिरामीको अनुमति बिना बिरामीको बारेमा जानकारी गराउन नमिल्ने बताए । उनले अहिले कोभिड–१९ को संक्रमण सबैलाई लाग्ने भएकोले शिक्षित व्यक्तिले आफू संक्रमित भएको जानकारी गराएर सूसूचित गरिरहेको बताए । “यो रोग लुकाए झनै समस्या हुन्छ । आफू संक्रमित भएको जानकारी गराउँदा रोकथाम र नियन्त्रणमा सहयोग पुग्दछ” उनले भने, “त्यसैले सबैले संक्रमण लुकाउनुभन्दा सबैलाई जानकारी गराउनु राम्रो हुन्छ ।”