स्याङ्जाका दुईदर्जन विद्यालयमा पहिरोले पुर्यायो क्षती, पहिरोको मुख्य कारण मोटरबाटो
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असोज २० मंगलबार
53
Shares
स्याङ्जा। स्याङ्जामा साउनबाट असोज महिनासम्म परेको अविरल बर्षाका कारण दुई दर्जन भन्दा बढी विद्यालयमा पहिरोले क्षती पुर्याएको छ । कोरोना संक्रमणका बेला पठनपाठन नभएपनि अविरल बर्षाले विद्यालयमा क्षती पुर्याएको हो। सरकारले पठनपाठन सुचारु गर्ने निर्णय गर्ने हो भने करिव एक दर्जन विद्यालयमा पढाई संचालन हुन कठिन देखिन्छ ।
११ पालिका रहेको स्याङ्जामा सबैभन्दा बढी विद्यालयको क्षती गल्याङ नगरपालिकामा रहेको छ । वालिङ र पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र विरुवा गाँउपालिकामा पनि अविरल बर्षाका कारण विद्यालयहरु पहिरोको जोखिममा रहेको स्थानीय पालिकाका शिक्षा शाखाका प्रमुखहरुको भनाई रहेको छ ।
भौगोलिक अवस्था, भिरालो जमिन र सडक सबैभन्दा बढी विद्यालयलाई पहिरोको क्षती पुर्याउने कारक देखिएको छ । पुरानो संरचना र कमजोर धरातल पनि विद्यालय पहिरोको जोखिम मोल्न बाध्य छन् । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले भने,“स्याङ्जाको अवस्था हेर्दा सबैभन्दा बढी क्षती आधारभुत प्रा.वि.मा भएका छन् ।” माविलाई भन्दा आधारभुत प्राविलाई कक्षा कोठा थोरै भएपनि हुने र जमिन धेरै नचाहिने भएकाले कमजोर धरातलमा निर्माण गर्दा यस्तो समस्या आएको हुनसक्छ पौडेलले भने । विद्यालयकै नजिकबाट सडक खन्ने प्रचलन बढ्दो भएकाले अधिकांश विद्यालय पहिरोको जोखिममा रहेको देखिन्छ ।
संस्थागत विद्यालयका कारण विद्यार्थीको संख्या घट्नुले पनि आधारभुत विद्यालय मर्मतमा कठिनाई हुँदा पुराना विद्यालय पहिरोमा परेको हुन सक्ने शिक्षाविदहरु बताउँछन् । साउनदेखि असोज महिनासम्मको अविरल बर्षादले आँधीखोला गाँउपालिकामा १, अर्जुनचौपारी गाँउपालिकामा १, विरुवा गाँउपालिकामा ३, गल्याङ नगरपालिकामा ४ मावि विद्यालयमा पहिरोले क्षती पुर्याएको छ भने,अर्जुनचौपारी गाँउपालिकामा ३, विरुवा गाँउपालिकामा १, वालिङ नगरपालिकामा ५, गल्याङ नगरपालिकामा ९, पुतलीबजार नगरपालिकामा ३, फेदिखोला गाँउपालिकामा २ आधारभुत विद्यालयमा पहिरोले क्षेती पुर्याएको शिक्षा शाखाका प्रमुखहरुले बताए ।
सबै विद्यालयहरुलाई सरकारले विद्यालय संचालन गर्न दिनु अगाबै निर्माण सम्पन्न गरी पठनपाठनमा सहजता ल्याउने गरी अगाडी बढेको शिक्षा समन्वयले जनाएको छ । कोरोना संक्रमणका कारण विद्यालय नखुले पनि स्याङ्जामा अनलाईन कक्षा र टोल टोलमा पुगेर शिक्षकहरुले पठनपाठनलाई निरन्तरता दिएका छन्।