नेपालगञ्ज । दशैं नजिकिदै गर्दा बढी मूल्यमा बेच्नलाई भारतबाट नेपालगञ्ज ल्याइँदै गरिएका लाखौं मूल्य बराबरका महिलाहरुको लागि प्रयोग हुने लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाटको कमान्डमा गएको टोलीले बुधबार बिहान ४ बजे नेपालगञ्ज वडा नम्बर १५ पिपरा गाउँबाट उक्त महिलाहरुले प्रयोग गर्ने कपडासहित तस्करीमा प्रयोग भएको अटोरिक्सालाई समेत बरामद गरेको हो ।
बरामद गरिएका कपडाहरुमा ६१ हजार रुपैयाँ बराबरको लेडिज सुट ६१ थान, ९०३०० रुपैयाँ बराबरको लेडिज कुर्ती १२९ थान बरामद गरेको छ। त्यस्तै १४४०० रुपैयाँ बराबरको १२० थान लेडिज सल र १ लाख ५ हजार बराबर मुल्यको भे १ स ७१६६ नम्बरको अटोरिक्सा बरामद गरेको हो ।
भारतबाट कपडा ल्याउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्ना साथ अटोरिक्सा र कपडा छोडेर भागेको सशस्त्र प्रहरीले बताएको छ।
त्यस्तै सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले पनि बुधबार बिहान २ बजे नेपालगञ्ज वडा नम्बर १५ नयाँबस्तीबाट लेडिज कपडा बरामद गरेको छ। बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले भारतबाट ल्याइदै गरिएका ६० हजार ९०० रुपैयाँ बराबरका ५० पिस लेडिज सुट, ५२ पिस लेडिज कुर्ती र ५१ पिस पलाजु बरामद गरेको हो ।
दुबै टोलीले बरामद गरेका सबै अवैध सामाग्रीको मुल्य ३ लाख ३१ हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जानकारी दिएको छ।
बरामद गरिएका सबै सामग्रीलाई बुधबारै नेपालगन्ज भन्सार पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।