काठमाडौं । यातायात व्यवसायीले दशैंका लागि गाउँ फर्किने यात्रुका लागि अग्रिम टिकेट बुकिङ खुला गर्ने विषयमा छलफल गर्ने भएको छ । त्यसका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार दिउँसो मुलुकभरका यातायात व्यवसायी समितिलाई छलफलमा बोलाएको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले बिहीबार दिउँसो मुलुकभरका समितिका प्रतिनिधिहरुसि अग्रिम टिकेट बुकिङ खुला गर्ने वा नगर्ने विषयमा छलफल गरिने हाम्राकुरालाई बताए । ‘अहिलेको अवस्थामा अग्रिम टिकेट बुकिङ आवश्यक छ कि छैन? यात्रु पाइएका छन् कि छैनन्? समितिको अवस्था कस्तो छ? लगायतका विषयमा बुझ्न दिउँसो छलफल बोलाएका छौं’ कर्माचार्यले भने, ‘अहिले आवतजावत एकदमै न्युन रहेकाले हाम्रा गाडीहरु लसमा चलिरहेका छन् । अग्रिम टिकेट खुलाउने वा नखुलाउने भन्ने विषय समिक्षाको विषय हो ।’
सरकारले दशैं मनाउन गाउँ नफर्किन आग्रह गरिसकेकाले अग्रिम टिकेट बुकिङ खोल्नुको अर्थ नभएको अध्यक्ष कर्माचार्यले बताए । धेरै यात्रुहरु यसअघि नै गाउँ फर्किसकेका कारण दशैं तिहारमा गाउँ फर्किने यात्रुको सँख्या न्युन रहेको भन्दै अग्रिम टिकेट खोल्नुको अर्थ नरहेको कर्माचार्यको भनाई छ । ‘अग्रिम बुकिङ खोल्न पनि जटिल छ’ उनले भने, ‘अग्रिम बुकिङ गरेर फ्याट्ट बन्द गरिदियो भने यात्रुहरुले जान पाएछन् कि पाउँदैनन् भन्ने हुन्छ । त्यो भन्दा त आज पाएको टिकेटमा भोली नै जान पाइरहेको छन् । यो नै उपयुक्त छ ।’
अग्रिम टिकेट खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले पनि यातायात व्यवसाीलाई छलफलमा बोलाएको छ । शुक्रबारका लागि व्यवसायीलाई छलफलमा बोलाइएको र छलफलबाट आवश्यक निर्णय गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
पछिल्लो समय नेपालमा बढिरहेको कोरोना भाइरस संक्रमणको जोखिम अत्यधिक रहेकाले दशैं तिहारमा गाउँ नफर्किन सरकारले आग्रह गरिसकेको छ । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा अत्यधिक संक्रमण फैलिरहेकाले गाउँ फर्केर गाउँमा झन जोखिम नबढाउन सरकारले आग्रह गरिसकेको छ । बुधबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गाउँ नफर्किन आग्रह गरेका थिए । गाउँमा हुन सक्ने अत्यधिक संक्रमणलाई मध्येनजर गर्दै यस वर्षको ‘आशिर्वाद बचाऔं’ नारा समेत सरकारले बनाएको ज्ञवालीले बताएका थिए ।
यात्रु नभएका कारण यातायात व्यवसायीले डिजेल खर्च समेत उठाउन नसकिरहेका यातायात व्यवसायीले दावी गर्दै अाएका छन् ।