गोविन्द केसीको जीवनरक्षाको माग गर्दै कोटेश्वरमा कांग्रेसको प्रदर्शन
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
25
Shares
काठमाडौं। अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । केसी अनशन बसेको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले युवा नेता कुन्दनराज काफ्लेको नेतृत्वमा प्रदर्शन गरेको हो ।
प्रदर्शनपछिको कोण सभामा काफ्लेले केसीका माग अबिलम्ब पूरा गरेर उनको जीवन रक्षा गर्न माग गरे । केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग दुई तिहाईको कम्युनिष्ट सरकारले सुन्न नै नचाहनु आश्चर्यजनक रहेको उनले बताए ।
अनशनका क्रममा केसीलाई केही भएहाले त्यो नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महंगो पर्ने चेतावनी काफ्लेले दिए । विगतमा कांग्रेसको सरकार बनेका बेला भएका सहमतिसमेत ओलीले उल्ट्याएर केसीलाई अनशन बस्न बाध्य पारेको उनको आरोप थियो ।
प्रदर्शनमा नेपाली कांग्रेस र उसका भातृ संगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो । नेबिसंघ नेता नवराज त्रिपाठीले केपी ओलीको संघर्ष सत्ता गरिव जनताको लागी नभई सत्ता सयलको लागी मात्र थियो भन्ने पुष्टि भएको बताउँदै देशभरका नेबिसंघलाई सडकमा उत्रन आव्हान गरे ।
कार्यक्रममा कांग्रेस नेता अर्जुन पराजुली, उमेश गुरुङ्ग, राजन अधिकारी, माधवी भट्ट, मनिस सिम्खडा लगायतको उपस्थिति रहेको नेबिसंघ नेता संजय बुढाथोकीले बताए ।